arrow

नेपालमा चिनियाँ चलखेलः देशलाई भेन्टिलेटरमा राख्नुपर्ने भइसक्यो, हाम्रो दिमाग खुस्क्या हो – डा. दिनेश भट्टराई 

‘उत्तरको सबै ठीक हुने हो ? उत्तरतिर समर्पित हुने राष्ट्रवाद हो ?’

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ पुष १३ सोमबार
dinesh-bhattarai.jpg

काठमाडौं । ‘उत्तरको नाङ्गो हस्तक्षेप । यस वातावरणको जिम्मेवार को ! राणाकालमा भारतले जस्तो मन्त्री परिषदमा भोलिको दिनमा चिनियाँ सल्लाहकार राख्नुपर्ने वातावरण श्रृजना हुँदैछ । सबैको ध्यान पुगोस् ।’

यो भनाइ विश्व बैंक नेपालमा कन्सल्टेन्ट भएका सुरेन्द्र गोविन्दको फेसबुक स्टाटसबाट लिइएको हो । उनले सोमबार बिहान फेसबुकमा स्टाटस राखेर सबैको ध्यान खिचेका हुन् । रोटरियनसमेत रहेका उनको यो स्टाटस र पछिल्लो समय नेपाली राजनीतिमा चिनियाँले जमाउन खोजेको प्रभावमाथि केन्द्रीत छ । 

राणाकालमा नेपालको मन्त्रिपरिषदमा भारतीय सल्लाहकार हुने गर्दथे । त्यसरी नै अब कतै चिनियाँ सल्लाहकार मन्त्रीपरिषद्मा राख्नुपर्ने त हैन ? भन्ने उनले गम्भीर प्रश्न खडा गरेका छन् । 

हुन पनि पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो मिलाउन चीनले भूमिका खेल्दै आएको छ । चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । 

त्यसबेलादेखि नै चिनियाँ चलखेल बढिरहेको छ । यसले गर्दा नेकपा कहाँबाट संचालित छ भन्ने स्पष्टै हुन्छ । कम्युनिष्ट सरकार बनेदेखि नै चिनियाँ चलखेल बढ्दै आइरहेको पाइएको छ । 

भारतविरुद्ध बोल्दा राष्ट्रवादी भइन्छ भन्ने कम्युनिष्टको सोचका कारणले गर्दा पनि चिनियाँलाई भित्र्याइरहेको प्रतित हुने राजनीतिक एवं परराष्ट्र विश्लेषकहरु बताउँछन् । 

परराष्ट्रविद् डा. दिनेश भट्टराई भारतीय सल्लाहकार हुने चलनबारे सम्झन्छन्, ‘उतिबेला हाम्रै कारणले गर्दा भारत बस्या हो । पछि हामीले नै हटाएर हटेको हो । प्रधानमन्त्री र पोलिटिकल पार्टीहरु मिलेटर हटाएको हो ।’

अहिले चिनियाँ हस्तक्षेप र चलखेलबारे उनी भन्छन्, ‘हाम्रो व्यवहार र हाम्रो नियतका कारणले गर्दा नै चीनले चलखेल गरेको हो । हामीले जस्तो नियत देखाउँछौं अरुले त्यस्तै व्यवहार देखाउने हो । मुलुकलाई कम्युनिष्टले कमजोर बनाइसके ।’

यसलाई थप स्पष्ट पार्दै उनी भन्छन्, ‘देशलाई भेन्टिलेटरमा राख्नुपर्ने भइसक्योे । यो सबै हाम्रो नियतले गर्दा भएको हो । मुलुकलाई कमजोर बनाउने खेल हामीले गरिरहेका छौं । हाम्रो दिमाग खुस्क्या हो ।’

परराष्ट्रविद् भट्टराईले भने, ‘एक जना विरामी हस्पिटलमा भयो भने के के दिनुपर्छ । त्यसरी नै मान्छे बचाउने हो भने भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । अब देश बचाउन पनि भेन्टिलेटरमा राख्नुपर्ने भइसक्यो ।’

राष्ट्रवादबारे उनी भन्छन्, ‘उत्तरको सबै ठीक हुने हो ? उत्तरतिर समर्पित हुने राष्ट्रवाद हो ? यो सोचले नै हाम्रो दिमाग खुस्क्या हो ।’

भट्टराईले यस विषयलाई गम्भीर रुपले लिनुपर्ने बताउँछन् । हामीहरु कमजोर भएकैले विदेशी चलखेल बढेको भन्दै यसले देशलाई निकै नै गम्भीर मोडतिर लगेको उनको भनाइ छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी पनि नेपालमा चीनको प्रभाव धेरै भएको स्वीकार गर्छन् । उनले नेपालका नेताहरुको कमजोरी र भारतीयहरुको गलत रणनीतिले यस्तो भएको बताउँछन् । 

उनी चीनका तर्फबाट भएको गतिविधि नेपाली जनतालाई मन नपरेको बताउँछन् । उनले भने, ‘चीनको प्रभाव नेपालमा धेरै हुँदैछ । नेपालका नेताको कमजोरी भारतीयहरुको गलत रणनीति यसको कारण हो । चीनको तर्फबाट जुन गतिविधि भैरहेको छ नेपाली जनतालाई मन परेको छैन । भारतीय बढी चलखेलले नेपालको भूमि भारत विरोधी हुन पुग्यो यसरी नै चीन पनि हुनेछ । तर दुवै गतिविधि नेपालको विकासको वाधक हुनेछन् ।’  



लोकप्रिय समाचार
नयाँ