काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रेको जनता समाजवादी पार्टीले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने भएको छ । संसद् विघटनविरुद्धको आन्दोलनलाई निरन्तता दिइने पार्टीका शिर्ष नेताहरुले जनाएका छन् ।
थप आन्दोलनको कार्यक्रमबारे तय गर्न सोमबार दिउँसो पार्टीका शिर्ष नेताहरुको बैठक बोलाइएको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी गराए । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुँदै छ’ यादवले भने ‘आन्दोलनलाई निरन्तता दिनेछौ ।’ जसपाका नेताहरु पहिलो चरणको आन्दोलनबाट उत्साहित भएका छन् ।
पहिलो चरणको आन्दोलन व्यापक रुपमा सफल भएको पार्टीका अर्को नेता केशव झाले बताए । उनका अनुसार अब पार्टीले एक्लै आन्दोलन गर्ने कि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको माधव नेपाल–प्रचण्ड खेमासँग मिलेर अघि बढ्ने भन्ने विषयमा सोमबारको बैठकमा छलफल हुनेछ ।
जसपाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका थियो । त्यसअघि पुस १० गते देशव्यापी रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको थियो भने पुस ११ गते ७७ वटै जिल्लामा मसाल जुलुस निकालेको थियो ।
सरकारले संसद् विघटन गरे पछि संसद् पुनर्स्थापनाको मागलाई पहिलो एजेण्डा बनाइ जसपा केही दिनदेखि आन्दोलनमा उत्रेको छ । यद्यपि पार्टीका दोश्रो तहका केही नेताहरु संसद् पुनर्स्थापनाको एजेण्डाबाट पछि हटी चुनावको तयारी जुट्न पार्टी नेतृत्वलाई दबाब दिएका छन् । सोमबारको बैठकमा यसबारेमा पनि छलफल हुने पार्टीका नेताहरुले जनाएका छन् ।