मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा सोमबार यहाँ र्याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो ।
सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।
उनले कांग्रेस वामपन्थीको सहकार्यमा सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको छ भने ।
अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन् ।
सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताए । प्रदेश नं १ प्रदेशसभाका प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भने ।