arrow

'राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ'

सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
ram-chandra-poudel-nc.jpg

दमौली ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।  कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले सोमबार भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो ।

नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उनले भने, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताए । प्रतिनिधिसभा विघटनको विरोध गर्दै  कांग्रेस तनहुँले सोमबार दुई  निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ – १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गरेका थिए  ।



लोकप्रिय समाचार
नयाँ