नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको संसद संविधानको रक्षाको लागी पनि पुर्नस्थापना हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुर संघिय क्षेत्र नं १ ले आयोजना गरेको संसद विघटन विरुद्धको प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै कोइरालाले संसद पुर्नस्थापना हुनुपर्ने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको स्मरण गराउँदै संविधानको रक्षा गर्ने अभिभारा पनि कांग्रेसको भएको बताए। कोइरालाले नेपाली कांग्रेस सर्बसत्ताबादका बिरुद्ध आन्दोलनमा होमिएको र संसद पुर्नस्थापनाका लागि एक जुट भएर लागेको बताए।
फरक प्रसंगमा बोल्दै कोइरालाले सरकार भ्रष्टाचारमा डुबेर उत्रिनै नसकेको आरोप लगाए। कोभिड महामारीमा समेत सरकार र सरकारका मन्त्रीहरु जनताको पक्षमा काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै कोइरालाले सरकारले तीन वर्षको अवधिमा भ्रष्टाचार बाहेक अरु केही काम गर्न नसकेको बताएका हुन् ।
कोईरालाले विकासका सवालमा प्रधानमन्त्री ओलीको कुनै दृष्टि नभएको भन्दै सत्तामा बसेर शासन गर्ने बाहेक केहि पनि काम प्रधानमन्त्रीबाट नभएको जिकिर गरे । विरोधसभामा कांग्रेसका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।