रुपन्देही । प्रतिक्रियाबादीहरुको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुन पुगेको लुम्विनी प्रदेश सभामा सांसद् भोज प्रसाद श्रेष्ठले बताएका छन् । रिर्पोटस् क्लव लुम्विनी प्रदेश बुटवलले सोमवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, सांसद् श्रेष्ठले यस्तो बताएका हुन् ।
संसद् विघटन भएपछि अहिले प्रत्येक जिल्लामा पुगेर नेकपा दुई खेमाका नेताहरुले कार्यकर्ताहरु समक्ष आफुहरुलाई चोख्याउँदै, एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने क्रम चलेको छ । कार्यक्रमको मुख्य नेताको रुपमा आमन्त्रण गरिएकी नेकपा प्रचण्ड–माधव खेमाकी पूर्वसांसद् राम कुमारी झाँक्री भने सो कार्यक्रममा उपस्थित भइनन् ।
साक्षात्कार कार्यक्रममा वोल्ने वक्ताहरुले संसद् विघटन विरुद्ध रिट अदालतमा बिचाराधीन अवस्थामा रहेकाले बाहिर बहस र आन्दोलन गर्नुको कुनै अर्थ नरहेको धारणा राखेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद् भोज प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम संबैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीको ओलीको बचाउ गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता युवराज गिरीले प्रधानमन्त्रीको कदम लोकतन्त्रको बिरुद्धमा रहेको आरोप लगाउँदै, प्रधानमन्त्री ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटना तर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गरेका थिए । साथै उनले, सर्वोच्च अदालतमा संसद् विघटन विषयको रिट बिचाराधीन मुद्धामा धेरै बहस र बिरोध गर्न नहुने उल्लेख गर्दै, अदालतलाई प्रभाव पार्ने काम कसैले गर्न नहुने जनाए ।
त्यस्तै अधिबक्ता तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाँईले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अप्रजातान्त्रीक, जनघाती र आत्मघाती जघन्य अपराध भएको टिप्पणी गरे ।