काठमाडौं । नेपाल प्रहरीका नौं जना एसएसपी डीआईजी पदमा बढुवाका लागि सिफारिस भएका छन ।
सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेमा एसएसपी गणेशबहादुर ऐर पहिलो नम्बरमा छन । उनी सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन ।
यसैगरी दोस्रो नम्बरमा पुरुषोत्तम कँडेल बढुवा सिफारिसमा परेका छन भने तेस्रो नम्बरमा राजेशकुमार लाल कर्णको नाम सिफारिसमा परेको छ । यस्तै चौथो नम्बरमा डा देवबहादुर बोहरा, पाचौंमा दिवेश लोहनी बढुवा सूचीमा परेका छन ।
यसैगरी छैठौं नम्बरमा रामकृपाल शाह छन भने सातौंमा उमेश रञ्जितकार छन । यस्तै आठौं नम्बरमा प्रकाश अधिकारी, नवौंमा मुकुन्दराज आचार्य छन ।
केही समयअघी मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा पाँच जना डीआईजीको दरबन्दी थपेपछि ८ डीआइजी पद रिक्त भएको थियो । त्यसपछि डीआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा भएपछि थप एक पद रिक्त रहेको थियो ।
रिक्त र थपिएका सबैगरी ९ जना डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसमा परेकाहरुकोबारे आगामी मन्त्रीपरिषद् बैठकले निर्णय गर्नेछ ।