नुवाकोट। नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा बजारमा र क्षेत्र नं २ ले बिदुरमा सोमबार आयोजना भएको कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके ओलीलाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् ।
‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यौ । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको उल्लेख गर्दै संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे ।
ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ ? नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो ।
अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए । ‘केपी शर्मा ओलीले उनको खड्ग नेपालको संविधानमा प्रयोग गर्न पाइँदैन । त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।