बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी सी जिन पिङ नेतृत्वको चीन सरकारले आफ्ना विदेशी वाणिज्य दूतावासहरुको दुरुपयोग गर्दै जासुसी गराउने गरेको तथ्यांक लीक भएको छ। लीक भएको तथ्यांक अस्ट्रेलियाले प्राप्त गरेको हो । जसमा सीसीपीका सदस्यहरुको मुलुक, जन्ममिति, राष्ट्रिय परिचयपत्र र जातियतासहितका कुराहरु समावेश गरिएका छन्।
विश्व शक्ति बन्ने होडमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीसीपी नेतृत्वको चीन सरकारले विभिन्न मुलुकमा आफ्ना जासुसी निकायहरुलाई थप सक्रिय पारेको खुलासा यो लीकबाट भएको हो । राष्ट्रपति सी जिनपिङ नेतृत्वमा पार्टी र चिनियाँ सरकारले वैदेशिक हस्तक्षेप र जासुसी कार्यहरु बढाएको आरोप लाग्दै आएको छ । पछिल्लो समय लीक भएको तथ्यांक अनुसार ठूला बहुराष्ट्रिय कम्पनीका साथै संघाईमा रहेका विदेशी सरकार र विभिन्न मुलुकका वाणिज्य दूतावास र मिसनहरूमा कार्यरत १९ लाख ५० हजार सीसीपी सदस्यहरूको नाम, ओहोदा, जन्मदिन र जातीयताको खुलासा गरिएको छ।
"यो मापदण्डको सूची पहिलोपटक बाहिर आएको हो र यसले सीसीपी सञ्चालनको गोप्यता खुलासा गरेको छ र विश्वका केही ठूला कम्पनीहरूमा चिनियाँ कम्युनिष्ट पार्टीको शाखा कसरी सम्मिलित छ भन्ने कुराको पर्दाफास गरेको छ," विज्ञहरुले चेतावनी दिएका छन्, "चीनले यस संरचनालाई विश्वव्यापी प्रभुत्व प्राप्त गर्न प्रयोग गरिरहेको छ ।"
संघाई सर्भरबाट निकालिएको उक्त गोप्य तथ्यांक प्रजातान्त्रिक शक्तिको लागि ठूलो सफलता हो । किनकि सीसीपी सदस्यहरूले संघाईका धेरै विदेशी वाणिज्य दूतावासहरुमा घुसपैठ गर्न सकेको छ । सीसीपी सदस्यहरू संघाईमा कम्तिमा १० विदेशी परामर्शदाताहरुमा वरिष्ठ राजनीतिज्ञ र सरकारी मामिला विशेषज्ञहरु, क्लर्कहरु, आर्थिक सल्लाहकारहरु र कार्यकारी सहायकहरु जस्ता प्रमुख पदहरुमा रहेका छन् ।
सीसीपी सदस्यहरू कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरु फाइजर र एस्ट्राजेनेकाका कम्पनीहरुमा पनि रहेको पाइएको छ । अहिले कोरोनाविरुद्धका मुख्य दुई खोपमा पनि सीसीपी सदस्यहरु भएको पाइएको छ तर, उनीहरुले कुनै तथ्यांक भने चोरी गरेको पाइएको छैन । बोइङ,भक्सवैगन, एचएसबीसी, एएनजेड जस्ता प्रमुख कम्पनीहरूको संलग्नता सूचीमा खुलासा गरिएको छ । यी कम्पनीहरूमा न केवल सीसीपी सदस्यहरूले रोजगारी पाएका छन् उल्टै उनीहरूभित्रै चिनियाँ कम्युनिष्ट पार्टीका शाखाहरू पनि इम्बेड गरिएको छ ।
विदेश मामिला विज्ञहरूले यो तथ्यांक लीकले सम्भवतः चिनियाँ 'राज्य प्रायोजित जासूस घुसपैठ' लाई खुलासा गरिदिएको बताएका छन्।