arrow

उखु किसानको मागमा सम्झौता : बक्यौता रकम २१ दिन भित्र सरकारले उठाइ दिने

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
farmer-fasting-sugercan.jpg

काठमाडौं। उखु बेचे वापतको रकम नपाएको भन्दै विगत १६ दिनदेखि काठमाडौं आएर आन्दोलन गर्दै आएका किसान र सरकारबीच चारबुँदे सम्झौता भएको छ। सोमबार सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको उखु किसान र सरकार बिचको वार्ता सम्झौता गरी टुंगाइएको हो । सम्झौता अनुसार अब उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयले लिएको छ।

सरकारले उखु किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएपछि उनीहरु तत्कालका लागि आन्दोलन रोक्न सहमत भएका छन। सर्लाही, रौतहट र नवलपरासीबाट उखु किसान काठमाडौं आएर दिनहुँजसो धर्ना सहित प्रदर्शन गर्दै आएका थिए।  उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले सरकारी प्रतिबद्धतापछि तत्कालका लागि आन्दोलन रोकिएको जनाए।

तोकिएको समय भित्र रकम भुक्तान नगरे थप कानुनी प्रक्रिया अघि बढाउँने सहमती पत्रमा उल्लेख छ। यसैगरी किसान र उद्योगी बिचका समस्या पहिचान गर्न १२० दिनको समय तोकिएको छ।

यस्तै समस्या पहिचान गर्न प्राविधिक समिति बनाउँने सहमती छ। समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, कृषि मन्त्रालय सहित अर्थ मन्त्रालयको प्रतिनिधि एक एक जना सहित किसान तर्फबाट तीन जना र उद्योगीबाट एक र संघर्ष समितिबाट दुई जना प्रतिनिधि राख्ने सहमती भएको छ।

सो समितिले उखु तथा चिनीको उत्पादन, बजारीकरण, अनुदान रकम भुक्तानी लगायतका विषयमा अध्ययन गर्ने छ। त्यसपछि किसान तथा उद्योगीले भोगेको समस्या पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सुझाव पेश गर्ने छ।



लोकप्रिय समाचार
नयाँ