काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा भइरहेको भारत विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोलीले कमजोर प्रदर्शन गरेको छ । भारतले जितका लागि मात्र ७० रनको लक्ष्य पछ्याउँदै छ ।
पहिलो इनिङमा १३१ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङमा २०० रनमात्र बनाउन सकेपछि ७० रनको मात्र लक्ष्य दिन सकेको हो । दोस्रो इनिङमा कुनै पनि अष्ट्रेलियनले अर्धसतक बनाउन सकेनन् ।
स्टेभन स्मिथले करियरकै दोस्रो पटक कम स्कोरमा आउट भए । उनले यो खेलमा ८ रनमात्र जोड्न सके । यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा भारतले ३२६ रन बनाएको थियो ।
चौथो दिनको लन्च चलिरहँदा भारतले मंगलबारै नतिजा आफ्नो पक्षमा पार्ने देखिएको छ ।
चार खेलको सिरिजमा पहिलो खेल भारतले गुमाएको थियो । पहिलो खेलको दोस्रो इनिङमा ३६ रनमै समेटिएकाले पनि ७० रनको लक्ष्य कतै भारतलाई भारी पर्ने त हैन ?
यो खेलमा कप्तानी सम्हालेका अजिन्क्या रहानेले ११२ रन बनाएका थिए ।
भारतका लागि पहिलो इनिङमा जसप्रित बुमराहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।
दोस्रो इनिङमा सिराजले ३ विकेट लिँदा बुमराह, आश्विन र जडेजाले २–२ विकेट झारे । उमेर यादवले १ विकेट लिए ।