काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई बधाइ दिएको छ ।
सोमबार लाजिम्पाटको नेपाली चुल्होमा आयोजित विशेष कार्यक्रममा रेबानले उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिलाई बधाइसहित सम्मान गरेको हो ।
कार्यक्रममा रेबानका अध्यक्ष अरनिको राजभण्डारीले महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानपत्र सहित सम्मान गरेका थिए ।
सम्मानपछि महासंघका अध्यक्ष गोल्छाले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरबाट होटल रेष्टुरेण्ट क्षेत्र सबै भन्दा बढी मारमा परेको र देशले पर्यटन क्षेत्रमा ठूलो मौका गुमाएको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले महामारीबाट सृजित समस्याको सबै मिलेर समाधान गरेर अघि बढ्नु पर्ने बताए । उनले यतिबेला व्यवसाय टिकाउन नै हम्मेहम्मे परेको भन्दै सरकारी पक्षबाट समेत व्यवसायीका पक्षमा ध्यान दिइनु पर्नेमा जोड दिए ।
रेबानका अध्यक्ष राजभण्डारीले महामारीपछिको अवस्थामा आन्तरिक पर्यटकहरुलाई बढवा दिने गरी होटल व्यवसायीहरुबाट समेत नीति बनाउने तयारी भइरहेको बताएका थिए ।
कार्यक्रममा बीबीसी मास्टर सेफ २०२० का उपविजेता सन्तोष शाहलाई समेत बधाइ दिंदै सम्मान पत्रले सम्मन गरिएको थियो । सम्मानपछि शाहले नेपाल र नेपालीको आशिर्वाद आफूलाई प्राप्त भएको र नेपाली खानालाई आफूले विश्वमा चिनाउने मौका पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा २२ औं पोखरा सडक महोत्सवबारे समेत जानकारी दिइएको थियो । १५ पुसबाट १७ पुससम्म तीन दिन चल्ने सो सडक महोत्सवमा विभिन्न कार्यक्रमको आयोजना हुँदैछ ।