काठमाडौं। नेपालमा सत्तारुढ दलमा आएको विभाजनले दुई छिमेकी मुलुकले चासो लिएका छन् । भारत र चीनले यसलाई आफ्नै तरीकाले व्याख्या विश्लेषण गरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा आफ्नो राजनीतिक हस्तक्षेपको कुरा नगरेपनि उनीहरुको टोली नेपालमै रहेको यथार्थलाई लुकाउन सकिने अवस्था छैन ।
भारतीय सञ्चारमाध्यममा नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको साथ खोजेको समाचार टिप्पणी प्रकासित गरेका छन् भने चिनियाँ पक्षले नेपालमा कम्युनिष्ट पार्टी विभाजन हुन नहुने धारणा राख्न थालेको छ । अझ चिनियाँहरु त चार सदस्यीय टोलीसहित नेपालमा घनिभुत छलफलमा रहेका छन् । नेपाल भ्रमणका रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यचौको टोलीले विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपालाई जोड्ने प्रयासमा जुटेको छ । चार दिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरुलाई भेटेर नेकपालाई विभाजन हुन नदिइ त्यसको मिलनविन्दुको बारे खोजीनीति गर्दै पुनः एकताको प्रयासमा लागेको हो ।
नेपालमा दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकता भएपछि चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसँग भाइचारा सम्बन्ध स्थापित गरेका थियो । गत वर्षमात्रै नेकपा र सीपीसीबीच ७ बुदे समझदारी भएको थियो । २०७६ असोज ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुवैपक्षीय भ्रमण, प्रशिक्षण, अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको थियो । त्यसअघि पूर्व एमाले र पूर्वमाओवादीबीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो । एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो । पार्टी एकिकृत भएपछि एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्ने बताइएको थियो । त्यसपछिका दिनमा नेकपा र सीपीसीबीच विचार आदानप्रदानका विभिन्न कार्यक्रम पनि भए ।
नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा ‘सी विचारधारा’ माथि छलफल चलेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामाथि बहसमा सीपीसीका तर्फबाट संगठन विचार पार्टी अनुशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत भए । तर विचार आदानप्रदान हुन थालेको एक वर्ष दुई महिनामै नेपालमा सत्तारुढ दल विभाजित भएर कानुनी प्रक्रियामा पुगेको छ ।
पार्टी एकताको समेत सुत्रधार मानिएको यचौको टोलीले काठमाडौमा प्रधानमन्त्रीसहित नेकपाका चार नेताहरुलाई भेटेर पार्टी फुटको औचित्यको कारण र यसले पार्ने असर तथा नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीको भविष्यको बारेमा चासो चिन्ता व्यक्त गरेको छ । सकेसम्म उनीहरुले मिलाउने कोसिसका साथ आफ्ना धारण र चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र सि जिनफिङको सन्देश सुनाएका छन् । उनीहरुले राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपाकै शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेट गरेर नेकपा विभाजित हुनुको कारणबारे जानकारी लिए । आइतबार र सोमबार दिनभर नै उनीहरुले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए।
चिनियाँ अन्तराष्ट्रिय विभागका उपमन्त्री यचौको टोली तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै नेपाल आएको थियो । तत्कालिन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा यचौको टोलीले काम गरेको हो । अहिले पार्टी विभाजन हुने वित्तिकै यचौको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्नुले नेपालीको कम्युनिष्ट पार्टीमा चिनियाँ प्रभाव कुन तहसम्म रहेको सतहमा आएको छ । प्रधानमन्त्री केपी ओलीसँग दुई घण्टा लामो भेटघाट गरेर उनीहरुले पार्टी एकताको लागि पहल गर्न आग्रह गरेका थिए । चिनियाँ राष्टपति सि चिनफिंगको समेत पार्टी विभाजन नहोस भन्ने धारणा रहेको भन्दै राष्टपतिको सन्देश समेत सुनाएका थिए । चारै नेतासँग उनीहरुले एउटा साझा प्रश्न गरे– के नेकपामा अब मिलनविन्दु सकिएको हो ? नेपाली नेताहरुले त्यसको जवाफ भने एक अर्कालाई आरोप लगाएर दिएपछि चिनियाँ टोलीको मिसन असफल हुने देखिएको छ । प्रचण्ड–नेपाल समूहले ओली सच्चिनुपर्ने र ओलीले दाहालहरुमै समस्या रहेको, सरकारलाई काम गर्न नदिएर उक्ल्याउदै बाहिरिएको बताएका थिए । यसले गर्दा नेकपा केही वर्ष अब विभाजित अवस्थामा रहने देखिएको छ ।
जानकारहरुका अनुसार चिनियाँ टोली नेपाल आएर सहमति, एकता र मिलविन्दु खोज्ने काम ढिला भैसकेपछि अहिले विभाजित भएको नेकपा जति नै गरेपनि तत्काल जोडिने अवस्था छैन । जतिबेला चिनियाँ रक्षामन्त्री नेपाल आएका थिए त्यतिबेला नै यचौको टोली नेपाल आएको भए नेकपा केही वर्ष जोगिने अवस्था आउने थियो । गत मंसिर १३ गते चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आए । त्यसको दुई दिन अघिसम्म भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला औपचारिक नेपाल भ्रमणमै थिए । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हे काठमाडौं आएपछि उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य केही नेताहरु र नेपाली सेनासँग भेटघाट गएर गए । उच्चस्तरको भ्रमण त्यतिबेला हुन लागेको थियो जतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा मात्रै थिएन चिनियाँ मन्त्री आउने बेलामा सचिवालयको बैठक र रस्साकस्सी जारी नै थियो ।
नेपालका दुई कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्न प्रोत्साहन गरेको चीन नेकपा नफुटोस् भन्ने पक्षमा उभिदै आएको छ । जतिबेला पार्टीभित्र विवाद चर्किन्छ, चिनियाँ राजदूतले नेकपाका शीर्षनेताहरुलाई भेट्ने गरेकी छिन् ।
त्यसैले नेकपा विवाद एकदमै संवेदनशील अवस्थामा पुगेकै अवस्थामा चीनका तर्फबाट यस्तो भ्रमण हुनुले दुईपक्षीय कूटनीतिक सम्वन्ध विस्तारसँगै नेपालको आन्तरिक मामिलामा चिनियाँ चासो अतिरिक्त रुपमा बढेको अवस्थालाई समेत पुष्टी गरेको छ । तर यसपटक भने उनीहरुको यो चासोसँगै हस्तक्षेप निकै ढिला भएको रुपमा बुझिएको छ । प्रचण्ड र नेपाल समूह तथा ओली समूहले छुट्टा छुट्टै पार्टी निर्माण गर्न लागिसकेका छन् । प्रचण्ड–नेपाल र ओली समूहले छुट्टै पार्टी निर्माणको तयारी गरेपछि यसपटक चिनियाँका लागि नेपालको पार्टी मिलाउन आफूहरु नेपाल गएका थियौ भन्ने आशय बाहेक अरु नदेखिने जानकारहरुले बताएका छन् ।जानकारहरुका अनुसार नेपालमा अबको एउटा निर्वाचनसम्म नेकपा अलग अलग पार्टीका रुपमा अघि बढ्ने अवस्था देखिएको र पार्टी निर्माणको कोर्स पनि त्यसरी नै अघि बढेको बताइएको छ ।