arrow

अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित, सिरिजमा बराबरी

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
cricket-india-test2.jpg

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा भएको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली भारतसँग पराजित भएको छ । जितका लागि मात्र ७० रनको लक्ष्य पाएको भारतले २ विकेट गुमाएर पूरा गरेसँगै भारतले ८ विकेटको जित निकालेको हो । 

पहिलो इनिङमा १३१ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङमा २०० रनमात्र बनाउन सकेपछि ७० रनको मात्र लक्ष्य दिन सकेको थियो । दोस्रो इनिङमा कुनै पनि अष्ट्रेलियनले अर्धसतक बनाउन सकेनन् । 

स्टेभन स्मिथले करियरकै दोस्रो पटक कम स्कोरमा आउट भए । उनले यो खेलमा ८ रनमात्र जोड्न सके । यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा भारतले ३२६ रन बनाएको थियो । 

चौथो दिनको लन्चपछि ७० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले १५.५ ओभर खेलेर २ विकेटको नोक्सानीमा जित निकालेको हो । 

शुवमान गिलले नटआउट ३५ तथा कप्तान अजिन्क्या रहानेलाई नटआउट २७ रन बनाए । चार खेलको सिरिजमा पहिलो खेल भारतले गुमाएको थियो । पहिलो खेलको दोस्रो इनिङमा ३६ रनमै समेटिएकाले पनि ७० रनको लक्ष्य कतै भारतलाई भारी पर्ने त हैन ? भन्ने आशंका पनि थियो । तर भारतले शानदार खेल्यो । 

यो खेलमा कप्तानी सम्हालेका म्यान अफ द म्याच अजिन्क्या रहानेले पहिलो इनिङमा ११२ र दोस्रो इनिङमा नटआउट २७ रन बनाएका थिए ।  

भारतका लागि पहिलो इनिङमा जसप्रित बुमराहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए । 

दोस्रो इनिङमा सिराजले ३ विकेट लिँदा बुमराह, आश्विन र जडेजाले २–२ विकेट झारे । उमेर यादवले १ विकेट लिए । 

यो खेल जितेसँगै भारतले चार खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । तेस्रो खेल जनवरी ७ तारिखदेखि सिड्नीमा सुरु हुनेछ । 



लोकप्रिय समाचार
नयाँ