सर्लाही । सर्लाही स्थित नेकपामा सम्बद्ध भएर निर्वाचित पालिका प्रमुखहरु मध्ये ओली खेमामा दुई पालिका प्रमुख देखिएका छन् भने प्रचण्ड-माधव खेमामा ५ पालिका प्रमुख देखिएका छन् । पालिका प्रमुखहरुको भनाई अनुसार तत्काल सर्लाहीमा प्रचण्ड-माधव खेमा बलियो देखिएको छ । तर यो खेमा कतिञ्जेल बलियो देखिने हो वा अर्को खेमाले कस्तो खेल खेल्ने हो भन्ने कुरा भने भावि गतिविधिले देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संघीय संसद् विघटन गरेसँगै मुलुकमा राजनैतिक तरंग फैलिएको छ । दुई तिहाई नजिकको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुई चिरा बनेको अवस्था छ । ओली र प्रचण्ड नेतृत्वमा गठित नेकपा करिब-करिब फूटको संघारमा उभिएको छ ।
ओली खेमामा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं र ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा लागि परेका छन् । हरिवनका मेयर प्रसाईं एवं ईश्वरपुरका मेयर देवकोटा ओली खेमाले नियुक्त गरेको पार्टीको केन्द्रीय सदस्यमा समेत चयन भईसकेका छन् ।
काठमाडौंमै रहेको अवस्थामा आईपरेको राजनैतिक घटनाक्रमका साक्षी हरिवनका मेयर प्रसाईं त प्रधानमन्त्री एवं नेकपाका तत्कालिन प्रथम अध्यक्ष ओलीको पक्षमा निकै कडा रुपमा प्रस्तुत भईरहेका छन् । उनले प्रम ओलीले चालेको कदमका पक्षमा डटेर लागिरहेको देखिन्छ । मेयर प्रसाईँ ओली पक्षको संगठन विस्तारमा समेत निकै लागि परेका छन् ।
ईश्वरपुरका मेयर देवकोटाले पनि आफू ओली खेमामै रहेको बताए । ‘राष्ट्रियताको सबाल देखि हरेक हिसाबमा म हिजो पनि त्यही गुटमा हो, आज पनि त्यही गुटमा छु, हाँमी संस्थाको पछी लाग्ने हो, त्यसैले म ओली गुटमै संस्थागत पक्षमा छु’, मेयर देवकोटाले भने, ‘म पहिले देखि केपी ओली गुटमा लागेको मान्छे हुँ,
यता लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का भने आफू पहिले देखि नै नेपाल-खनाल गुटमा रहेको बताउँछन् । ‘म पहिला देखि नै एमालेको नेपाल-खनाल गुटमा थिएँ, अहिले पनि त्यही गुटमा छु’, मेयर खड्काले, ‘दायाँबायाँ हुने कुरै छैन, यो नीति भन्दा पनि नेतृत्वको झगडा हो, त्यसैले म पहिला जहाँ थिएँ, अहिले पनि त्यहीँ छु ।’
बागमती नगरपालिकाका मेयर भरतकुमार थापा पनि नेकपाको पछिल्लो समिकरणमा प्रचण्ड-माधव गुटमै आफू रहेको बताउँछन् । ‘म राजनैतिक हिसाबले पहिला देखि नै माओवादी नेता नारायणकाजी श्रेष्ठसँग नजिक भएको मान्छे हुँ, मेरो उहाँसगै बढी हिमचिम छ’, मेयर थापाले भने, ‘जनमोर्चा, माओवादी हुँदै म नेकपा भएको हुँ, त्यसैले मेरो स्पष्ट लाईन भनेको नेकपामा प्रचण्ड-माधव खेमा नै हो ।’
त्यसैगरी बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो पनि आफू प्रचण्ड-माधव गुटमै रहेको बताउँछन् । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक छ, यसले मुलुकलाई राजनैतिक बन्दी बनाउने मात्र नभई ठूलो आर्थिक क्षति समेत दिने कुरामा दुईमत छैन ।’, मेयर महतो भन्छन्, ‘म संयुक्त जनमोर्चा, माओवादी हुँदै नेकपा भएको हुँ, त्यसैले अहिलेको मेरो गुट भनेको प्रचण्ड-माधव खेमा नै हो ।’
त्यस्तै हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्नु असंवैधानिक कदम भएको बताउँछन् । ‘प्रम ओलीको कदम असंवैधानिक हो’, मेयर मन्सुर भन्छन्, ‘नेकपा भित्र म प्रचण्ड-माधव खेमामा सकृय रहने छु ।’
त्यसैगरी केही वर्ष अघि मात्र माओवादी हुँदै नेकपामा समाहित भएका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव पनि प्रम ओलीले चालेको कदमको सख्त विरोधी छन् । निवर्तमान श्रम रोजगार यातायात तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका छोरा विक्रमले प्रम ओलीको कदम असंवैधानिक रहेको बताए । ‘आफ्नै पार्टीका नेताले चालेको कदम भएपनि असंवैधानिक छ उनले भने ।
सर्लाहीमा २० वटा पालिका मध्ये ७ वटामा नेकपा सम्बद्ध उम्मेद्वारहरु प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । भने नेकपाबाट निर्वाचित दुई प्रदेश सभा सदस्य बेची लुंगेली र डिल्ली उपे्रती प्रचण्ड नेपाल खनाल खेमा देखिन्छन् भने सर्लाहीबाट संघीय सांसदमा निर्वाचित एक मात्रै सांसद रामेश्वर राय पनि यही खेममा छन् ।
नेकपाबाट निर्वाचित पालिका प्रमुखहरुको सर्सती पछिल्लो अवस्था हेर्दा प्रम ओली पक्ष भन्दा पनि प्रचण्ड-नेपाल-खनाल खेमामा बढी जनप्रतिनिधि देखिन्छन् । अब कतिदिन यो दुई खेमाको अवस्था यसरी नै टिक्ने हो, त्यो भने भविष्यको गर्भभै लुकेको देखिन्छ ।