रियो दि जेनेरियो। कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो।
ब्रजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्याङ्कहरू मापन गरी सार्वजनिक गरेको तथ्याङ्कमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलो पटक ब्राजिलको अर्थतन्त्रमा सुधारको सङ्केत गरेको छ। ब्रजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्याङ्कबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ।
यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो। एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११.६ प्रतिशत थियो। ब्रजिल कोभिड–१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो। बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ।
ब्रजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ। यो वर्ष स्वास्थ्य सङ्कटको कारण यो मन्दीमा पर्यो तर तेस्रो त्रैमासिकमा ब्रजिलको कुल गार्हस्थ उत्पादन ७.७ कायम भएको छ। ब्रजिलको छ करोड गरिब जनसङ्ख्यालाई महामारीका समय धान्नु र रोगको व्यवस्थापन गर्नु ब्राजिलका लागि निकै चुनौतीको विषय रहेपनि ब्राजिलले अर्थतन्त्रलाई सुधारको दिशातिर उन्मुख गर्नसकेकोमा विश्व समुदायले ब्राजिलको प्रशंसा गरेको छ।