arrow

डिआईजी बन्न सशस्त्रका एसएसपीहरुको दौडधुप

प्रतिष्पर्धामा रहेकाहरुको कस्को अवस्था के, पृष्ठभूमी के ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १५ बुधबार
apf1.jpg

काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डिआइजी) बढुवा प्रक्रिया थालेसँगै सशस्त्रका एसएसपीहरु शक्तिकेन्द्र धाउन थालेको भेटिएको छ । सशस्त्रले डिआईजी हुन आवश्यक आवेदन मागसँगै एसएसपीहरु शक्तिकेन्द्रको दौडधुपमा लागेको भेटिएको हो । सशस्त्रमा अहिले सात डिआइजी पद रिक्त छ ।

बढुवा वरीयतामा अगाडि आउन सकेको खण्डमा आइजिपीको रोलक्रममा परिने हुनाले शक्तिकेन्द्र रिझाउन दौडधुप बढेको हो । हालको नियमावलीअनुसार अहिले रिक्त सातै पदमा बढुवा गरिए पनि आइजिपीको रोकलक्रममा भने गणेशबहादुर ठाडामगर र कमल गिरी मात्रै रहने छन् । ३० बर्षे सेवा अवधि हटेको खण्डमा भने आइजिपीको रोलक्रममा अभि खत्री पनि थपिनेछन् । अन्य भने ३० बर्षे सेवा अवधि र पदावधिका कारण अनिवार्य अवकाशमा जानेछन् । स्रोतका अनुसार, अहिले खत्री, ठाडामगर र गिरी आआफ्नो लबिङमा छन । अहिलेको वरीयतामा खत्री अगाडि रहेकाले ठाडामगर उनलाई जसरी पनि आफूभन्दा पछि पार्न चर्को लबिङमा लागिपरेका छन् । हालको वरीयतामा खत्री एक, ठाडामगर ३ र गिरी ५ नम्बरमा छन् । एसएसपी शम्भु सुवेदी २ र दुर्गाप्रसाद भट्टराई ४ नम्बरमा छन् । सुवेदी र भट्टराईले भने पहिला नै अवकाश पाउने भएकाले उनीहरू भने सामान्य मात्रै लबिङमा छन् । उनीहरू पाँचै जना २३ असार २०७४ मा एसएसपी बनेका थिए । यी पाँच जनापछि कुलबहादुर नेम्वाङ छन् ।

वरीयतामा पहिलो नम्बरमा रहेका खत्री भने अहिले ६ नम्बर बाहिनीपति भएकाले वर्तमान राजनीतिक परिस्थितका कारण प्रदेश छाड्न पाएका छैनन । उनी अहिले सुर्खेतमै छन्। यसअघिको डिआइजी बढुवामा पनि उनी प्रमुख दाबेदार थिए । एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन्।

स्रोतका अनुसार सात डिआइजी पद रिक्त भए पनि अहिले ६ ओटा पदमा मात्रै बढुवा गरिने सम्भावना बढी छ । त्यसो त यसअघि दुई डिआइजी पद रिक्त भए पनि एउटामा मात्रै बढुवा गरिएको थियो । ६ जना बढुवा गर्दा १७ चैत २०७३ मा एसएसपी भएका पाँच जना र २३ असार २०७४ मा एसएसपी भएका एक जना पर्नेछन् ।

सात जना बढुवा गर्दा २० पुस २०७५ मा एसएसपी भएकाबाट गर्नुपर्ने हुन्छ । यसो गर्दा एक जना सिधै पछि पर्नेछन । २० पुस २०७५ मा एसएसपी भएकामा कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् ।

यस्तो छ बढुवा व्यवस्था

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डिआइजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सदस्य सचिव रहने उल्लेख छ ।

बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकन बापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरे बापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिम बापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

गणेशबहादुरको विवादित पृष्ठभूमी

आफ्नै कारण विवादमा आइरहने गणेशबहादुर ठाडामगरलाई अघि आउन फलामको चिउरा चपाउन जस्तै भएको छ । चेन अफ कमान्ड नमान्ने, सामाजिक सञ्जालमा जथाभाबी लेख्ने उनको स्वभावले उनलाई फोर्सको नेतृत्वमा पुग्ने गरि अगाडी ल्याउन मिल्छ की मिल्दैन भन्ने बारेमा मुख्यालयमा पटकपटक चर्चा भएको स्रोतको दावी छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख एसएसपी ठाडामगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै केही दिनअघि मात्रै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प चुनावमा हारेको समाचार आएलगत्तै एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए । जबकि, सशस्त्रको नियमावलीले कुनै पनि देशका राष्ट्रप्रमुखलाई होच्याउने अधिकार मातहतका कसैलाई पनि दिएको छैन । एसएसपी ठाडामगरको सो कार्यको कुटनीतिक वृत्तमा पनि चर्चा भएको पाइएको छ। 

एसएसपी ठाडामगरले गत वर्षको माघमा पनि सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउसँग’ भनेर फेसबुकमा पोस्ट गरेका थिए ।

ठाडामगर एसपी हुदा ८ नम्बर बरियतामा थिए । नेकपाका नेताहरु बर्षमान पुन,ओनसरी घर्ति र रामकुमारी झाँक्रीलाई प्रयोग गर्दै आफु भन्दा सिनियरलाई पछि पादै ३ नम्बर वरियतामा आउन सफल रहेको अहिले पनि सशस्त्र उच्च अधिकारीहरु भन्ने गर्छन । अघिल्लो पटक सहयोग गर्नेहरु यो पटक प्रधानमन्त्री केपी ओली बिरोधी गुटमा गएपछि भने अहिले उनी आफ्नो काम निकाल्न केपी निकटहरुको पहिचान गरि उनीहरुकोमा धाउन थालेको बताइएको छ ।  

अनियमिततामा समेत आरोपित

सशस्त्र प्रहरी बलको झापास्थित तत्कालीन पाथीभरा गणले आफूले भोगाधिकार लिएको पाडाजुलीस्थित जग्गा सुकुमबासीलाई भोगचलन गर्न दिएर गणेश बहादुर ठाडामगर सहितले झन्डै १५ वर्षसम्म रकम असुल्दै आएको खुलेको छ । सुकुमबासीलाई उनीहरू बस्दै आएको जग्गामा स्थायी रूपमा बस्ने वातावरण मिलाउने आश्वासन दिँदै बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले ५२ घर परिवारबाट रकम असुलेको खुलासा भएको हो । असुल गरिएको रकमको कुनै हिसाब राखिएको छैन । असुल गरिएको रकम तत्कालीन गणपतिहरूले लिने गरेको पाइएको छ ।

सुकुमबासीको बसोबास रहेको जग्गालाई गोपी पोखरेलले आफ्नो भएको दाबी गर्न थालेपछि सुकुमबासी परिवारले यो रहस्य खोलेका हुन् । २०६० सालमा तत्कालीन माओवादी विद्रोहीको गतिविधि उत्कर्षमा रहेको बेला सशस्त्र प्रहरी बलले तत्कालीन पाथीभरा गणका लागि रतुवामाई वृक्षारोपण आयोजनाको ८० बिघा जमिन भोगाधिकारका रूपमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सो जग्गामा बाहिरी घेरा राखेर सुकुमबासीहरूलाई भोगचलन गर्न दिएको थियो । ती सुकुमबासीले बसोबासका साथै खेतीपाती पनि गरेका थिए । खेतीपाती गरेको भन्दै सशस्त्र प्रहरी बलले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँको दरले १५ वर्षसम्म रकम असुल गरेको हो । यो कार्य २०७५ सालपछि भने बन्द गरिएको थियो ।

सो जग्गामा बस्दै आएकी नन्दमाया तामाङ र अम्बर प्रधान आफूहरूले २०७५ सालसम्म वार्षिक रूपमा गणलाई रकम बुझाएको बताउँछन । ‘खेतीपाती गर्न दिएको रकम चाहियो भन्दै हरेक वर्ष गणबाट मान्छे आउँथे । हामीले बिघाको १० देखि १५ हजार रुपैयाँका दरले बुझाउने गरेका थियौं,’ अम्बर प्रधान भन्छन् । रकम उठाउन लामो समयसम्म गणबाट राजकुमार राई भन्ने व्यक्ति आउने गरेको उनीहरूको भनाइ छ ।

२०६० सालदेखि ७५ सालसम्म सूर्यकुमार श्रेष्ठ, नरेश कार्की, बालकुमार श्रेष्ठ, गणेश ठाडामगर, राजेन्द्र शाक्य, रामकृष्ण लामा, अजय सिंह, भरतबाबु कार्की, प्रेमराज पोखरेल र विदुर खड्का सो गणको गणपति रहेका थिए । तीमध्ये अधिकांशले अवकाश पाइसकेका छन् । सो गणको गणपति रहेका पोखरेल यही पुस मसान्तमा अवकाश पाउँदै छन् ।

उता गणले भोगचलन गर्दै आएको जग्गामा तत्कालीन गणपति गणेश ठाडा मगरले काबेली जलविद्युत आयोजनाको हाई टेन्सन लाइनको टावर राख्न दिएका थिए । फायरिङ रेन्जको माथिबाट हाई टेन्सन लाइन राख्न दिइएको थियो । सो गणबाट हाई टेन्सन लाइनको टावर राख्दा जलविद्युत आयोजनालाई आर्थिक रूपमा पनि २ करोड रुपैयाँभन्दा बढी सस्तो पर्न गएको थियो । आर्थिक फाइदा लिएर हाई टेन्सन लाइन राख्न दिएको तत्कालीन गणपति ठाडा मगरमाथि आरोप लाग्दै आएको छ । 



लोकप्रिय समाचार
नयाँ