काठमाडौं । विभिन्न मुलुकहरुमा अहिले कोरोना भाइरसको नयाँ बढी संक्रामक स्वरुपका संक्रमित बढ्दै गएका छन् ।
भारत, जापान, क्यानाडा, अमेरिका, अफ्रिकालगायत थुप्रै युरोपेली देशमा कोरोना भाइरसको नयाँ स्वरुपसहितका संक्रमित बढी रहेका छन् ।
म्युटेट भएको कोरोना भाइरस पूरानो भन्दा बढी संक्रामक देखिएको छ । यद्यपी, यो नयाँ स्वरुपले पूरानो स्वरुप भन्दाबढी गम्भीर बिरामी भने नपार्ने देखिएको छ । अर्थात नयाँ स्वरुप पूरानोको तुलनामा बढी घातक भने छैन् ।
पब्लिक हेल्थ इङ्गल्याण्ड(पीएचई)ले सार्वजनिक गरेको अध्ययनले नयाँ स्वरुपको भाइरस पूरानो भन्दा बढी गम्भीर बिरामी नपार्ने देखिएको हो ।
पब्लिक हेल्थ इङ्गल्याण्ड नयाँ स्वरुपको संक्रमण देखिएका १७ सय ६९ जनामा अध्ययन गरेको थियो । पीएचईका वरिष्ठ चिकित्सा सल्लाहकार सुसन हपकिन्सले यो नयाँ स्वरुप पूरानो भन्दा बढी गम्भीर बिरामी नपार्ने देखिएको बताएका छन् ।
पूरानो र नयाँ स्वरुपको भाइरसको संक्रमितको तुलनामा पूरानो स्वरुपका १२ संक्रमितले ज्यान गुमाएका थिए भने नयाँ स्वरुपका १० जनाले ज्यान गुमाएका छन् ।
नयाँ स्वरुपको संक्रमितको सम्पर्कमा आउने १५ प्रतिशतमा संक्रमण भएको पाइएको छ भने पूरानो स्वरुपको संक्रमितको सम्पर्कमा आउने १० प्रतिशतमा मात्रै संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य अधिकारीहरुले यस विषयमा थप अध्ययन एवं अनुसन्धान जारी रहेको बताएका छन् ।एजेन्सी