रौतहट । जनकपुरदेखि बर्दिवासहुँदै बीरगञ्जसम्मको रेलमार्ग निर्माणको काम लामो समयदेखि चलिरहेको छ । रेल्वेको पहिलो चरणको निर्माणमा केही ठेकेदारहरुको मनोमानि बढ्दै गएको छ । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पुर्ब पश्चिम रेलमार्गको निर्माण कार्यमा आयोजनाका प्राबिधिक र कर्मचारी निर्माणस्थलमा नबस्ने गरेकाले निर्माण ब्यबसायीले आफुखुशी कार्य गर्दै आएका छन् ।
रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका ईन्जिनियर सुरेस साहले आयोजनासंग जनशक्ति नभएकाले निर्माणस्थलमा प्राबिधिक कर्मचारी राख्न नसकिएको बताए । उनले निर्माण ब्यबसायीको भरमा निर्माण कार्य भईरहेको बताए ।
रेल बिभागको पेटी ठेक्का पाएको चौधरी कन्ट्रक्सनले गरेको काम गुणस्तरहिन भएको स्थानीयले बताएका छन् । हरेक १५ –१५ सेन्टीमिटरमा रोलिङ गर्नुपर्नेमा सो कन्स्ट्रक्सनले त्यसो नगरी धमाधम काम गरेका कारण सामान्य बर्षामा समेत चन्द्रपुर ७ स्थित बनबहुअरी क्षेत्रको ड्याम भत्कन थालेको बनबहुअरीका स्थानीय दिनेश खनालले बताए । सो स्थानमा रेलमार्गको बेसमा झारपात समेत सफा नगरी गिट्टी बालुवा हालेका कारण अहिलेनै सो स्थानमा समान्य पानीले ड्याम भत्किएको स्थानीयले बताएका छन् ।
लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले चपुर-गौर सडकखण्ड भन्दा पूर्व र पश्चिम तर्फको करिब ६ किमी काम ठेक्का पाएको छ । निर्माण कम्पनीले रेलमार्ग निर्माण भइरहेको स्थानमा लागत ईस्टिमेटको बोर्ड समेत राखेको छैन । यस कन्ट्रक्सनले शुरूवाति चरणमै गुणस्तरहिन काम गरेकाले निमार्ण गर्न बाँकी निर्माणको कार्य पनि हदसम्मको कमसल हुन्छ भन्ने यही सुरुवाति कामले देखाएको छ ।
निर्माण भएका संरचनाको नियमित अनुगमन र मुल्याङ्कन रेलवे विभागले गर्नुपर्ने भए पनि विभागका प्राबिधिक र कर्मचारीले नियमित अनुगमन गर्ने नगरेकाले ठेकदारको मनोमानी बढेको स्थानियको आरोप छ । पेटी ठेक्कामा बनबहुअरी क्षेत्रमा काम गरेको चौधरी कन्स्ट्रक्सनका ईन्जिनियर बताउने अमित कुमार रिजालले आफ्नो काम कसैले रोक्न नसक्ने भन्दै मनोमानी काम गरेको जानकारहरुले बताएका छन् ।