काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणी पौडेललाई हटाएको छ । सो समूहले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
बुधबार पेरिसडाँडामा बसेको प्रदेश सांसदको बैठकले शाक्यलाई संसदीय दलको नेता बनाएको हो ।
प्रचण्ड-माधव समूहले बागमती प्रदेश सभामा मुख्यमन्त्री समेत रहेका पौडेल बिरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए ।
प्रचण्ड-माधव समूहका ४५ जना प्रदेश सांसदले उनी बिरुद्ध हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो समूहले नेतृ शाक्यलाई नै मुख्यमन्त्री प्रस्ताव गरिसकेको छ ।
संसदीय दलको बैठकले सकेसम्म सरकार बनाउन आफैं बहुमत पुर्याउन प्रयास गर्ने, नभए सत्ता सहकार्यका लागि नेपाली कांग्रेससहितका दलहरुसँग प्रस्ताव गर्ने निश्कर्ष निकालेको बागमती प्रदेशका एक सांसदले जानकारी दिए ।