काठमाडौं । गत मंसिर ८ मा कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिए । सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको स्थानमा शपथ लिएका उनी यस्ता सांसद बने जस्ले सदन छिर्ने सौभाग्य पाउन सकेनन् । शपथपछि संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने प्रतिक्रिया दिंदै संसद् सचिवालयबाट बाहिरिएका उनले संसद जानु अघी नै पूर्व सांसद हुने कल्पना समेत गरेका थिएनन् ।
राजनीतिमा बेलामौका यस्ता दुर्लभ घटना हुने गर्छन । नेपालको पछिल्लो घट्नाक्रमले सांसद पाण्डेलाई ‘दुर्लभ नेता’का रुपमा चित्रण गर्यो जो सांसदको लोगो लगाएर पनि संदन छिर्नै पाएनन् । कुर्सीमा बसेर ताली बजाउनै पाएनन् । पोडियममा उभिएर जनताका कुरा राख्नै पाएनन् ।
किनकी संसदको हिउँदे अधिवेशन सुरु भएकै थिएन । अधिवेशन बोलाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते आइतबार संसद भंग गरिदिइन् । जसको निशानामा परि नेपालको संविधान घाइते भएको छ भने सांसद पाण्डेले एक दुर्लभ पात्रको परिचय पाए ।
बेलामौका सत्ता संचालकको मनोमानी र एकाधिकारका कारण व्यवस्था नै असफल बनाउने प्रयास हुनेगर्छ । नेपालमा पाँच बर्षका लागि जनताको म्यान्डेट पाएको प्रतिनिधिसभा विघटनले पाण्डे ‘अभागी’ सावित भए । तर पाण्डे आफूलाई होइन नेपाली जनता र व्यवस्थालाई अभागी ठान्छन । उनी भन्छन्, ‘यहाँ ब्यक्तिको कुरा होइन व्यवस्थालाई नै संकटमा पारियो । ‘यहाँ व्यक्तिको कुरै होइन, यहाँ मुलुुकलाई नै दाउमा राखियो, ओलीले संविधान र जनतालाई नै धोका दिए ।’
‘प्रधानमन्त्रीले एउटा ऐतिहासिक दुर्घटना निम्त्याउनुभयो र कलंकित बन्नुभयो । यस्तो बेला अदालतले निष्पक्ष छानविन गरोस,’सांसद पाण्डेको आग्रह छ ।
२०३७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे ०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापति भएका थिए । २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरिसकेका उनी यसअघि २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
सांसदको शपथ लिएपनि सदन छिरेर उपस्थितिको हस्ताक्षर गर्न नपाएका पाण्डेको सेवा सुविधाका बारेमा विभिन्न जिज्ञासा राख्दा संघीय संसद सचिबालयका प्रवक्ता रोजनाथ पाण्डे शपथ लिएदेखि भंग भएसम्मको सेवा सुविधा पाण्डेले पाउन सक्ने बताउँछन् ।