काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका छन् ।
बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले अल्पमतमा परेको स्वीकारेका हुन ।
सम्बोधनका क्रममा उनले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालको पक्षमा बहुमत रहेको तर बहुमतको दुरुपयोग भइरहेको आरोप लगाए । संसद पुनर्स्थापनाको माग गरिरहेका पक्षलाई इङ्गित गर्दै ओलीले निर्वाचनमा जुट्न सबैलाई आग्रह पनि गरे ।
प्रचण्ड-माधव समूहलाई लक्षित गर्दै ओलीले भने, ‘दुई-चार सिट जित्न पनि प्रचण्ड र माधव नेपालले ‘कपडा बिगारेर’ बस्नुको साटो निर्वाचनको तयारी थाल्नुपर्ने हो ।’
‘पार्टीमा माधव गुट रहेको म पहिल्यै प्रष्ट थिएँ, पछि फेरि प्रचण्ड गुट थपियो दुईवटा मिल्दाखेरि बहुमत पुग्छ भन्ने मलाई थाहा थिएन र ?’ ओलीले भने,‘प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने पहिले नै प्रष्ट थिएँ ।’
माधव नेपालसँग बढी खनिएका ओलीले अधिकांश समय विभाजित समूहलाई आरोप लगाएरै आफ्नो अभिब्यक्ति राखेका थिए । उनले भने, ‘माधवजी प्रचण्डको मामूली कार्यकर्ता हुनुभयो, दोस्रो अध्यक्ष बन्न पुग्नुभयो तर अध्यक्ष त प्रचण्ड नै हो ।’
एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग भएको उनको गुनासो थियो । कामचलाउ प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ ।’