काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल स्तव्ध बनेको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलमाथि अंक अन्तर गर्ने राम्रो अवसर हुँदाहुँदै बराबरी खेलेसँगै स्तव्ध भएको हो ।
बुधबार राति न्यूक्यासल युनाइटेडसँग उसकै मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । मोहमद सलाहाले गोलका दुई अवसरलाई खेर फालेका थिए । साडियो मानेको प्रहारलाई न्युक्यालका फाबियन स्कहारले गोल लाइनबाट बचाएका थिए ।
दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग ५ अंकको अग्रता लिने अवसर लिभरपुलले खेर फालेको छ । बराबरीको नतिजासंगै लिभरपुलले युनाइटेडसँग तीन अंकको मात्रै अग्रता कायमै राखेको छ ।
लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ भने एक खेल कम खेलेको युनाइटेडको ३० अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको १६ खेलबाट २९ अंक छ। एक खेल कम खेलेको एभर्टनको पनि २९ अंक नै छ ।
बुधबार रातिनै भएको टोटनह्याम हट्सपर र फुल्हमबीचको खेल भने स्थगित भएको छ । कोरोना भाइरसका कारण खेल स्थगित भएको हो ।