arrow

चिनियाँ टोलीको नेपाल भ्रमण, हस्तक्षेप वा सद्भाव ?

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ पुष १६ बिहिबार
china_team1.jpg

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको अवलोकन गर्न पठाएको प्रतिनिधिमण्डल फिर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर दुई समुहमा बाँडिएका बेला परराष्ट्र मन्त्रालयसँग सहकार्य नगरी चिनियाँ विदेश विभागको टोली नेपाल आएको थियो ।

त्यसैगरि सुरक्षा निकायसँग पनि कुनै समन्वय नगरि आएको चिनियाँ टोलीको सुरक्षा दुतावास आफैले मिलाएको थियो। चिनियाँ टोलीको 'हाईप्रोफाईल' बैठकहरुमा परराष्ट्रका कुनै प्रतिनीधि सामेल थिएनन्। परराष्ट्रलाई जानकारी नगराई हुने बैठकहरुलाई नेताहरुले सहजरुपमा लिने गरेका छन्।

चीनको सरकारी टोली नेपाल सरकारसँग समन्वय नगरी सरकारको नेतृत्व गरिरहेको नेकपाकै शीर्षनेतासँग भेट्नुले नेकपामा सीसीपीको हस्तक्षेपलाई खुलस्त पारेको छ । यो व्यवहारलाई नेकपामा मात्र होईन देशमै हस्तक्षेपका रुपमा पनि लिईएको छ।

कोको लाई भेट्यो चिनियाँ टोलीले ?

आइतबार

आइतबार मध्यान्ह काठमाडौं आइपुगेपछि चिनियाँ टोलीले साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर एक घण्टा लामो कुराकानी गरेका थिए । उनीहरुले भेटमा के के कुराकानी गरे भन्ने बारेमा धेरै जानकारी भने बाहिर आएन।

राष्ट्रपति भण्डारीसँगको भेटपछि आइतबार साँझ नै यो टोलीले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि भेटवार्ता गरेको थियो । ओलीसँगको भेटका क्रममा दुई देशबीचको हित साथै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए।

सोमबार

सोमबार विहान चिनयाँ टोलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेको थियो । प्रचण्डसँगको भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रचण्डलाई भेटेर फर्किएको टोलीले बानेश्वर पुगेर नेकपाका अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको थियो । हाल दाहाल–नेपाल समूहका अध्यक्षसमेत रहेका नेपालसँग एक होटलमा भेटेर समसामयिक विषयमा एवं राजनीतिक अन्योलताकै विषयमा कुरा गरेको थियो ।

टोलीले सोमबार फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबारको भेटमा भने नेकपालाई फेरि एकजुट पार्न सकिने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि गुओ यैचोको टोलीले भेट गरेको थियो । सोमबार साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा विविध विषयमा कुरा भएको थियो ।

मंगलबार

मंगलबार विहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले बुढानिलकण्ठस्थित निवासमै पुगेर कांग्रेस सभापति देउवासँग भेट गरेको थियो। भेटमा सभापति देउवासहित नेता डा. नारायण खड्का र परराष्ट्रविद् दिनेश भट्टराई सहभागी थिए । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको र चिनियाँ टोलीले पछिल्लो घटनाक्रमबारे कांग्रेसको धारणा बुझ्न खोजेको बताइएको छ ।

भेटघाटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुरा भएको उपलक्ष्यमा आयोजना हुने कार्यक्रमका लागि राष्ट्रपति सी जिनपिङले देउवालाई पठाएको निम्तो सुनाएका थिए ।

बुधबार

चौथो दिन बुधबार बिहानै चिनियाँ टोली स्वदेश फर्किएको थियो । नेकपा औपचारिक रुपमा फुटको संघारमा पुगेको बेला मिलाउने अन्तिम प्रयासमा आएको उक्त टोली फर्कने बेलामा कुनै उत्साह नबोकी फर्केको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । नेकपा जोड्ने मिलनविन्दू खोज्नका लागि आएको येचौको टोलीको यो प्रयास तत्कालका लागि असफल भएको बुझिएको छ ।

समग्रमा भन्नु पर्दा भेटवार्ताका क्रममा चिनियाँ टोलीसँग ओली पक्षले प्रचण्डपक्ष गलत रहेको भन्दै टिप्पणी गर्‍यो भने, प्रचण्डपक्षले ओलीपक्ष सुध्रिनु पर्ने टिप्पणी गर्‍यो ।

मुख्यरुपमा नेकपा मिल्नका लागि अझैं कुनै बिन्दु छ की? भन्ने प्रश्न उक्त टोलीको थियो । यसको जवाफमा पनि दुवै पक्षले एकअर्कालाई नै सुध्रिनु पर्ने जवाफ दिए ।

प्रचण्ड र ओली दुवैले एकअर्को पक्षलाई आरोप लगाउँदा चिनियाँ टोलीको वार्ता एकाधार हुन सकेन । दुवैपक्षको बीचमा हाललाई कुनै किसिमको पनि सहमतिको संकेत चिनियाँ टोलीले देख्न सकेन ।

भिन्ना–भिन्नै स्वार्थका लागि लडिरहेको ओली र प्रचण्डपक्ष अहिले मध्यस्थकर्ताको भुमिका खेल्न आएको चिनियाँ टोलीलाई टेर्ने पक्षमा पनि देखिँदैन ।

चिनियाँ टोलीको भ्रमण नेकपा एकता नटुटोस् भन्ने चाहनाले भएको त सर्वविधितै छ । उसको चाहनाका लागि उस्ले यो भ्रमणमा के कति काम गरेर गयो भन्ने कुरा आउँने दिनमा नेपाली राजनीतिमा आउने तरंगहरुले बताउँनेछ ।

चीन नेपाली आन्तरिक मामिलामा खुल्यो

पछिल्ला ५ वर्षयता नेपालमा अत्यधिक प्रभाव बढाउँदै लगेको चीनको नेकपा एकजुट गराउँने यो प्रयास अन्तिम हैन्, बरु पहिलो प्रयास मान्न सकिन्छ । चीनले पहिले छद्म रुपमा आफ्ना क्रियाकलापहरु गर्ने गरेकोमा पछिल्लो समयदेखि खुल्ला रुपमा नेपाली मामिलामा हस्तक्षेप बढाउन थालेको छ।

रणनीतिक रुपमा अवस्थित मुलुक रहेकोले पनि चीन, भारत, अमेरिका, युरोपियन युनियन लगायतका देशहरुको नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने खिचातानीले नेपालले राजनीतिक स्थिरता देख्न पाएको छैन।

चीन र अमेरिकाको आपसी मतभेदमा नेपाल जहिल्यै प्रभावमा परिरहेको छ जुन आउँदा दिनहरुमा बढ्दै जाने सजिलै आंकलन गर्न सकिन्छ। नेपालले आफ्नो आन्तरिक मामिला आफैले सुल्झाउन सक्षम नभएसम्म बाह्य हस्तक्षेप रहिरहनेछ ।

कुनै समय अमेरिका र रुसको शीतयुद्धको प्रभाव खेपेको नेपालले पछिल्लो समयमा भारत-चीन र अमेरिका-चीनको आपसी टकरावको प्रभाव नेपालले भोग्नु परेको छ।

चीनको हस्तक्षेपकारी भुमिका पछि अरु देशहरु पनि चुप लागेर नबस्ने निश्चित नै रहेको छ। यसरी धेरै देशको क्रिडास्थल बन्दै गरेको नेपालले आफूलाई खेल मैदानमा रुपान्तरण गर्ने की हस्तक्षेपहरु बिरुद्ध एकजुट हुने निर्णय चाँडै गर्नुपर्ने छ। अन्यथा धेरै ढिलो हुनसक्छ।  

कम्युनिष्ट पार्टी एक बनाउन चीनको सक्रियता

पूर्व माओवादी र एमाले एकजुट भएर बनेको नेकपा सरकार स्थापना भएपछिका हरेक राजनीतिक घटनाक्रममा चिनियाँ सक्रियता अतिरिक्त रुपमा रहिआएको थियो ।

यसरी हरेक राजनीतिक घटनाक्रममा चिनियाँ सक्रियता रहँदा देशव्यापी आलोचना निरन्तर रुपमा थियो ।चीनको यो पछिल्लो कदमले नेपाली राजनीतिमा चीनको प्रत्यक्ष हस्तक्षेप भन्दै देश बाहिर समेत झन् ठूलो आलोचनाको विषय बन्यो ।

आफ्नो स्वार्थका लागि जस्तो सुकै आलोचना खेप्ने बानी भइसकेको चीन यतिकैमा रोकिने भने देखिँदैन ।संसद पुर्नस्थापनाका लागि प्रमुख विपक्षी राजनीतिक दलमात्रै हैन्, प्रचण्ड–नेपालसमुहको नै उग्र दबाब छ ।

यसबाहेक सर्वोच्चको अदालतको फैसला पनि बाँकी नै छ । यी दुई कुराले संसद पुनः स्थापनाको झिनो संकेत गरेको छ ।

यदि संसद पुनः स्थापना गर्न ओलीपक्षलाई वाह्यशक्तिले समेत निर्देशन गर्‍यो र नेकपा फेरि सामान्य अवस्थामा आयो भने यहाँनेर चीनले आफ्नो राजनीतिक सक्रियता र हस्तक्षेपलाई सफलताका रुपमा हेर्नेछ ।

यदि संसद पुनः स्थापना भएन र नेकपा पूर्णरुपले दुई पार्टीमा विभाजित भयो भने, चीनले नेपालमा आफु अनुकुलको राजनीतिक अवस्था सिर्जना गर्न निरन्तर प्रयासहरु जारी राख्ने देखिन्छ ।

वर्तमान स्थितीमा शक्तिशाली एवं निर्णायक देखिएको नेपाली कांग्रेसका सभापति देउवा र अर्को शक्तिशाली प्रतिपक्ष जसपाका प्रभावशाली नेता डा. भट्टराईलाई पनि भेट्नु अर्थपूर्ण मानिएको छ ।

सभापति देउवा र नेता भट्टराईलाई समेत उक्त टोलीले भेट्नुले भविष्यमा नेपाल नेकपाकै नेतृत्वमा नरहेको अवस्थामा पनि आफु अनुकुल पार्न खोज्नुको संकेतका रुपमा देखिन्छ ।

चिनियाँ टोलीको भ्रमण नेपालमा हस्तक्षेप वा सद्भाव साट्न भन्ने निर्क्योल चाँहि आउँदा दिनमा पर्दाहरु खुल्दै गएपछि प्रष्ट हुनेछ। नेपाली राजनीतिले कुन मोड लिन्छ त्यस्ले पनि चीनको नेपाल प्रतिको चासो स्पष्ट पार्नेछ।



लोकप्रिय समाचार
नयाँ