पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई पुनः दर्दनाक अवस्थामा पुर्याउन खोजेको आरोप लगाएका छन् । हिजो १० वर्षको ठूलो द्धन्द भोगेर आएको मुलुकलाई फेरि दर्दनाक स्थितिमा पुर्याउने प्रयास गरिएको बताए । ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कास्की कांग्रेसले आयोजना गरेको प्रवचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद विघटन कुनै पनि हातलमा राष्ट्रको हितमा नभएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रको घात गर्नेगरी चालेको कदमलाई सर्वोच्चको न्यायामूर्तिले रोकिदिने विश्वास व्यक्त गरे । उनले भने, ‘ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत दिनुभयो । तर अब सर्वोच्चले रोक्छ । यो मेरो विश्वास हो ।’
संविधानमाथि जवर्जस्ती गरेर चुनाव हुनै नसक्ने भन्दै नेता पौडेलले चुनाव गराउनका लागि संविधान भंग नभएको स्पष्ट पारे । ‘आफ्नै पार्टीको समस्याबाहेक प्रधानमन्त्रीलाई कतैबाट पनि अवरोध नभएको अवस्थामा राम्रो नियतले संसद भंग भएको होइन’, उनले भने ।
मुलुकलाई अफगानिस्तानको हालतमा पुर्याउने कोसिस भएको भन्दै कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने ठोकूवा गरे । 'वीपी कोइरालाले ४५ वर्ष अघि दक्षिण एशियामा भूमरी आउँछ भन्नु भएको थियो', त्यो भूमरी अहिले नेपालमा आइपुगेको नेता पौडेलको टिप्पणी गरे । प्रधानमन्त्रीले कसैको इशारामा यो भूमरी नेपालमा भित्र्याएको उनले आरोप लगाए ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्रधानमन्त्री ओलीले नचाहेको भन्दै नेता पौडेलले २०६२÷६३ लाई अस्वीकार गरेको र अहिले संविधान मान्दिन भनेर संविधानको हत्या गरेको बताए । प्रतिनिधिसभा विघटन नभएको भन्दै उनले संसद व्युँत्याउनु अबको एकमात्र विकल्प नभएको स्पष्ट पारे । संविधानमै नभएको व्यवस्थाले संसद विघटन हुनै नसक्ने उनको जिकिर थियो ।
पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाटले वीपीको नीति आज जति सान्दर्भिक छ भोलि त्यो भन्दा बढी सान्दर्भिक हुने बताए । उनले प्रधानमन्त्री ओलीमा चुनाव गराउने मनसाय नभएको आरोप लगाए ।
कांग्रेस नेता शुक्रराज शर्माले संगठन बलियो नबनाइ पार्टी चुनावमा जान नहुने बताए । उनले विगतबाट पाठ सिकेर नेताहरु एकढिक्का हुन आवश्यक रहेको स्पष्ट पारे ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रधानमन्त्री ओलीको कदम विरुद्ध कांग्रेस एकढिक्का भएर सडकमा आउनुपर्नेमा जोड दिए । कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेताहरु देवराज चालिसे, खेमराज पौडेल, शोभियतबहादुर अधिकारी, शारदा पौडेल, विन्दु कुमार थापा, माधव प्रसाद बाँस्तोला, विजयराज आचार्य, सरस्वती गुरुङ लगायतले संवोधन गरेका थिए ।