काठमाडौं। सशस्त्र प्रहरीमा ६ जना डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन् ।
एसएसपीबाट डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् । सशस्त्रमा पहिलो वरियतामा रहेका एसएसपी खत्री तेस्रो नम्बरमा सिफारिस भएका छन् भने विवादित छवीका ठाडामगर २ नम्बरमा बढुवा सिफारिस भएका हुन्। उनी एसएसपीको ३ नम्बर वरियतामा थिए । ५ नम्बर वरियताका कमल गिरी भने सबैलाई उछिन्दै एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।
सिफारिस भएका नामहरुमा चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न समेत म्याद दिदै समितिले नाम सार्वजनकि गरेको हो। सशस्त्रले सिफारिस भएका नामहरु आफ्नो वेभसाइटमा समेत सार्वजनिक गरेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले केही दिन अगाडि सूचना जारी गर्दै सात दिनभित्र सशस्त्र प्रहरी उपरिक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन आग्रह गरेका थिए ।
सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएका थिए ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहनेछन् ।