काठमाडौं । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले एक वर्ष पार गरेको छ । उक्त अवधिमा विश्वभर ८ करोड ३८ लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् भने १८ लाख २६ हजारको ज्यान गएको छ ।
चीनमा भने ८७ हजार ८१ जनामात्रै संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको ज्यान गएको छ । तर त्यही चीनबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वलाई तहसनहस पारेको छ ।
अझै पनि रोग नियन्त्रण हुन सकेको छैन । तर यसको नयाँ स्वरुप समेत भेटिएर पनि फैलिन थालेको छ । बेलायतमा पहिलो पटक देखा परेको कोरोनाको नयाँ स्वरुप अहिले चीनमै पुगेको छ ।
चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरुपको कोरोना भाइरस भेटिएको बीबीसीले लेखेको छ । नयाँ स्वरुपको कोरोना भाइरसका संक्रमित बेलायतमा धेरै भेटिएका छन् भने अरु देशमा पनि तीव्र रुपले फैलिरहेका छन् ।
नयाँ स्वरुप पहिलेको तुलनामा ७० प्रतिशतसम्म तीव्र गतिले फैलिने समेत दावी गरिएको छ ।
चीनले खोपको समेत उत्पादन गरिसकेको छ । उसले उत्पादन गरेको खोप ७९ प्रतिशत प्रभावकारी भए पनि यो एसियाका लागि लाभदायक हुने दावी गरिएको छ ।
इन्डोनेसिया, पाकिस्तान लगायतका देशमा सिनोफर्माले उत्पादन गरेको सिनोभ्याक खोप लगाउने तयारी भइसकेको छ ।
चीनले यो खोप आफ्ना नागरिकलाई निःशुल्क लगाउने भएको छ । अत्यावश्यकीय रुपमा भने पहिले नै ४७ लाख चिनियाँले यो खोप लगाइसकेको दावीसमेत गरिएको छ ।