काठमाडौं । हरेक महिनाको पहिलो सोमबार विहान साढे ९ वजे सचिवस्तरीय बैठक बोलाउने कार्यतालिका मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले बनाएको छ तर यस महिना सचिवस्तरीय बैठक बस्न सकेन ।सचिवस्तरीय बैठक बोलाउने जिम्मा मुख्यसचिवको हुन्छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाए झै मुख्यसचिवले सचिवस्तरीय बैठक बोलाउने गर्छन । प्रशासनिक र मन्त्रालयहरुलाई चलायमान गराउन सचिवस्तरीय बैठक निकै महत्वपूर्ण मानिन्छ । तर पुस महिनामा मुख्यसचिव शंकरदास बैरागीले सचिवस्तरीय बैठक बोलाएनन् ।
यो महिना सचिवस्तरीय बैठक बोलाउन नसकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले स्विकार गरे । पुस महिनामा व्यस्तताको कारण सचिवस्तरीय बैठक बोलाउन नसकिएको उनले बताए । अब चाँडै बैठक बोलाउने तयारी भएको पनि उनले जनाए ।
सचिवस्तरीय बैठक नबोलाउनुको भित्री कारण भने प्रधानमन्त्रीले गरेको संसद् विघटन हो । पुस ५ गते आइतबार प्रधानमन्त्रीले संसद् विघटन गरे । नियमित कार्यतालिका अनुसार त्यसको भोलीपल्ट पुस ६ गते सोमबार विहान सचिवस्तरीय बैठक बोलाउनु पथ्र्यो तर मुख्यसचिव बैरागीले सचिवस्तरीय बैठक बोलाउन सकेनन् । तर बैरागीले त्यस दिन बैठकको अगुवाई गर्न सकेनन् । संसद् विघटन पछि बैठक बोलाउन उनी आफैं अलमलमा परेको स्रोतले बताएको छ ।
एक प्रशासन विज्ञ भन्छन, ‘प्रधानमन्त्रीले संसद् विघटन गरे पनि नियमित कार्यतालिका अनुसार मुख्यसचिवले सचिव स्तरीय बैठक बोलाउनु पथ्र्यो । बैठक बोलाउन नसक्नु मुख्यसचिवको कमजोरी हो ।’
मन्त्रीपरिषद्को बैठकले गरेको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न सचिवस्तरीय बैठकको भुमिका महत्वपूर्ण हुन्छ । अन्तर मन्त्रालय समन्वय गर्न, एक मन्त्रालय र अर्को मन्त्रालयीवीच कुनै समस्या भए, समाधान निकाल्न, एक महिनामा मन्त्रालयले गरेका कामकारबाहीहरुको समिक्षा गर्न सचिवस्तरीय बैठकमा समिक्षा गर्ने गरिन्छ । यसैगरी आगामि महिनामा मन्त्रालयहरुले बनाउने योजना तथा कार्यक्रमहरुको बारेमा छलफल गर्न सचिवस्तरीय बैठक बोलाउने गरिन्छ । ‘सचिवस्तरीय बैठकको मुख्य जिम्मेवारी भनेको मन्त्रालयलाई चलायमान गराउनु हो, सचिवस्तरीय बैठक बस्न सकेन भने मन्त्रालय सुस्त हुने सम्भावना रहन्छ’ एक पूर्व सचिव भन्छन् । ती पूर्व सचिव भन्छन, ‘वर्तमान मुख्यसचिवले आफनो जिम्मेवारी निभाउन भन्दा पनि प्रधानमन्त्रीप्रति बढी वफादार भएको कारण पनि सचिवस्तरीय बैठक बस्न नसकेको हो ।’
सचिवस्तरीय बैठक बोलाउने परम्परा पहिले देखिकै हो तर मुख्य सचिवले आफू अनुकुल बैठकको समय र मिति फेरबदल गर्ने गर्छन । यो मुख्यसचिवको अधिकार पनि हो । पछिल्लो सचिवस्तरीय बैठक गत मंसिर महिनाको पहिलो सोमबार बोलाइएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको थियो । त्यस बैठकले गरेको निर्णय बारेमा समिक्षा गर्न तथा थप योजना बनाउन पुस महिनाको पहिलो सोमबार बैठक बोलाउनु पथ्र्यो तर बैठक बस्न सकेन ।