arrow

आयल निगममा एक पछि अर्को सुधारको योजना

निरन्तर नाफामा रहेको निगमका कर्मचारी बोनसको अपेक्षा गर्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
nepal-oil-corp.jpeg

काठमाडौं । नेपाल आयल निगमले नयाँ योजनाहरु अघि सारेर काम अगाडि बढाएको छ । महत्वपूर्ण योजनाका रुपमा हेरिएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको  सफलतापछि निगमले अन्य योजनाहरुमा काम थालेको छ । अहिले निगमले मुख्य ६ योजनाहरु अघि सारेर काम अगाडि बढाइरहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।  

निगमले जनकपुरमा एलपीजी ग्यासका लागि भण्डार गृह बनाउने भएको छ । अहिलेसम्म निगमसँग एलपी ग्यासको भण्डारण गृह रहेको छैन् । त्यस्तै पोखरामा ५-५ हजार किलोलिटरको दुई फ्युल डिपोको निमार्ण कार्य सुरु भइसकेको छ । यस्तै, निमार्णाधीन पोखरा र गौतमवुद्ध विमानस्थलमा पनि आधुनिक हवाइ इन्धन डिपो बनाउने योजनामा निगमले काम अगाडि बढाएको छ । अत्याधुनिक कर्पोरेट अफिस बनाउने तयारीमा समेत निगम रहेको छ। 

यस्तै अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलगुडीबाट झापासम्म अर्का अन्तरदेशीय पाइपलाइन निमार्ण गर्ने लगायतका योजनामा निगमले गृहकार्य थालेको छ । सिलगुडीबाट झापासम्मको रुट पहिचानको लागि सर्वे भइसकेको छ । निगमलाई अझ व्यवस्थित, पारदर्शी, बनाउन सूचना प्रबिधिको सहयोग लिएर अटोमेशनको काम अगाडि बढाएको छ ।

पाइपलाइनको प्रयोगले एक वर्षमा डेढ अर्ब जोगियो
मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी हुन थालेपछि चुहावट, प्रदुषण, ढुवानीमा ढिलाइ हुने समस्या घटेको छ ।  यति मात्रै हैन्, यसै पाइपलाइनबाट इन्धन आपुर्ति सुरु गरेपछि १ वर्षमा १ अर्ब ४७ करोड रुपैयाँ ढुवानी खर्च समेत जोगिएको निगमको दावी छ । १५ महिनादेखि सञ्चालनमा रहेको पाइपलाइनले निगमको इन्धन ढुवानीका लागि हुने भाडा एवं अन्य खर्च गरी साढे दुई अर्ब रुपैयाँ जोगिएको निगमले जानकारी दिएको छ । अहिलेसम्म पाइपलाइनबाट करिब ७८ करोड लिटर डिजेल ढुवानी भएको छ । वार्षिक २० लाख हजार किलोलिटर ढुवानी क्षमता रहेको पाइपलाइनबाटै ढुवानी अझैं बढी गर्ने निगमको तयारी छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले सबै क्षेत्रमा ठूलो क्षति गरायो । मुख्यरुपमा लकडाउनले सवारी साधन ठप्प रहँदा आयल निगमको बिक्री निक्कै नै कमी भयो। आयातमा पनि कमि आयो । तर पनि व्यवस्थापनलाई चुस्त राखेको कारण उपभोक्ताले कमी महसुश गर्न नपाएको निगमको दावी छ । आर्थिक वर्ष २०७६/७७ को पछिल्ला चार महिना (गत चैतदेखि असारसम्म) मा निगमको बिक्री करिब करिव शुन्यमा नै झर्यो । तर, पनि निगमले आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याएर भारतले उसका उपभोक्तालाई दिने भन्दा सस्तो दरमा नै नेपाली उपभोक्तालाई निगमले पेट्रोलियम पदार्थ बिक्री बितरण गरिरहेको जनाएको छ । निगमले बिगत ५ वर्षयता निरन्तर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्यमा घटबढ भइरहे पनि निगमले यसरी निरन्तर प्रगति गर्नुमा कर्मचारी एवं व्यवस्थापन पक्षको ठूलो मेहनत रहेको निगम बताउँछ। आर्थिक वर्ष २०७२/७३ मा भारतीय नाकाबन्दी हुँदा समेत निगमले नाफा कमाएको थियो । सो वर्ष निगमले १९ अर्ब ३६ करोड नाफा कमाएको थियो । 

निरन्तर नाफामा हुँदा पनि एक प्रतिशत बोनस पाउन सकस
पाँच वर्षदेखि निगम नाफामा गए पनि ऐनले तोकेको बोनस कर्मचारीले पाउन सकेका छैनन् । विसं २०७४ मा संसोधनपछि निगमले कुल नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बाँड्न पाउने ऐनमा व्यवस्था रहेको छ । जस अनुसार आर्थिक वर्ष २०७४/७५ ४ करोड र २०७५/७६ को करिब ९ करोड रुपैयाँ बोनस कर्मचारीले पाउनु पर्नेछ । बोनसका लागि छुट्याइएको सबै रकम पनि निगमका कर्मचारीले नपाउने निगमका अधिकारी बताउँछन् । बोनस भनेर छुट्याइएको रकममध्ये प्रत्येक कर्मचारीले दर्जा अनुसार वार्षिक ४५ देखि ६० हजार रुपैयाँ पाउनेछन् । बाँकी बचेको मध्ये ८० प्रतिशत रकम सरकारी कर्मचारी कल्याणकोषमा जम्मा हुने निगमका एक अधिकारीले बताए । बाँकी बचेको २० प्रतिशत भने, निगमकै कर्मचारीहरुको कल्याणकारी कोषमा जम्मा हुनेछ ।

कर्मचारीहरुको मेहनतले निगम नाफामा गएको हुँदा बोनस पाउनु पर्ने प्रवक्ता उपाध्याय बताउँछन् । तर, अहिले पछिल्ला २ वर्षको १ प्रतिशत नाफा त्यसमा पनि वार्षिक ४५ देखि ६० हजार मात्रै बाड्न भने सहज छैन् । यस्तो कोभिडको कारण अफ्यारो परिस्थितिमा समेत रातदिन नभनि कर्मचारी खटेका छन् । यस्तो अवस्थामा ऐनले व्यवस्था गरेको बोनस नदिने हो भने कर्मचारी निरास हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । तर कतिपयले भने पेट्रोलियम पदार्थमा एकाधिकार जमाएको निगमले कर्मचारीहरुलाई बोनस बाड्न नहुने बताउदै आएका छन् ।   

उपभोक्तालाई के दियो निगमले ?
पछिल्लो मूल्य अनुसार नेपालमा भारतको भन्दा ३७ रुपैयाँ सस्तोमा डिजेल र ३१ रुपैयाँ सस्तोमा पेट्रोल बेचिरहेको प्रवक्ता उपाध्यायको दावी रहेको छ । ‘उपभोक्तालाई चाहिने पहिलो कुरा भनेकै मूल्य र गुणस्तर हो,’ उनले भने । भारतबाटै ल्याएको इन्धन भारतको भन्दा सस्तो मूल्यमा निगमले बिक्री गरिरहेको छ । यसबाहेक इन्धनको गुणस्तरको विषयमा पनि निगमले स्तरीयता रहेको बताएको छ । पछिल्लो समय अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी गर्दा झनै गुणस्तरीय इन्धन बजारमा आपूर्ति हुने गरेको बताए।

लकडाउनमा निगमको नाफा कसरी बढ्यो ?
अघिल्ला वर्षको नाफाको ब्याज, पाइपलाइन हुँदा बचेको ढुवानी खर्च र गत वर्ष ग्याँसमा भएको बचतले लकडाउनमा इन्धन खपत कम हुँदा पनि यो वर्ष पनि नाफामा निगम गएको निगमले बतायो । अमलेखगञ्ज पाइपलाइनबाट इन्धन ढुवानी हुँदा एक वर्षमा करिब १ अर्ब ४७ करोड जोगिएको छ । यस्तै १ अर्ब ७७ करोड ब्याज आम्दानी र करिब ३ अर्ब रुपैयाँ ग्यासबाट भएको बचतले यस वर्ष पनि निगमलाई फाइदामा जान मद्दत पुगेको हो ।



लोकप्रिय समाचार
नयाँ