काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटी सच्याउन मतदाताहरुमा आग्रह गरेको छ । आयोगले बैशाख १७ र २७ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढाउँदै गर्दा मतदाता नामावलीमा भएको त्रुटी सच्याउन नामावली अद्यावधिक कार्यक्रम राखेको हो ।
मतदाताहरुले आफ्ना स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटी सच्याउँन सकिने गरी आायोगले कार्यक्रम सार्वजनिक गरेको छ ।
जसअनुसार आफ्ना स्थानीय तहमा १५ माघ देखि २१ माघसम्म त्रुटी सच्याउन सकिने छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले आगामी १५ माघदेखि २१ माघसम्म देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्न लागेको र ६ पुसअघी नामावलीमा नाम दर्ता गरेका मतदाताहरुले नाम अद्यावधिक गर्न सक्ने जानकारी दिए ।
निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ ।
आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाखका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।
आयोगले देशभरका सबै स्थानीय तहमा रहेका केन्द्रहरुमा गएर मतदाता नामावली अद्यावधिक गरेपछि अन्तिम नामावली तयार गर्ने छ ।
आयोगका प्रवक्ता श्रेष्ठले मतदाताहरुलाई आफ्नो स्थानीय तहका केन्द्रमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागी भएर आफ्नो नाम अद्यावधिक गर्न समेत आग्रह गरे ।
‘अद्यावधिक कार्यक्रममार्फत मतदाताको विवरणमा त्रुटी भएको पाइए सच्याउँन सकिन्छ, आआफ्नो नाम नामावलीमा हेरेर रुजु गर्न आयोग सबैमा आग्रह गर्दछ ।’ प्रवक्ता श्रेष्ठले भने ।
आयोगले बिहिबार जारी गरेको सुचनामार्फत मृत्यु भएका वा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सो विरुद्धमा उजुर दिन पनि सबैमा आग्रह गरेको छ ।