काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रलाई मूल एजेण्डा बनाएको राप्रपाले शुक्रबार काठमाडौंमा ठूलो संख्यामा प्रदर्शनकारी उतारेर शक्ति प्रदर्शन गरेको हो ।
काठमाडौंका विभिन्न स्थानबाट निकालिएको विरोध जुलुस प्रदर्शनीमार्गमा एकिकृत भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेको छ ।
रत्नपार्कमा पुगेको प्रदर्शनलाई राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्दै छन ।
राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित बढ्दो भ्रष्टाचार, हत्या, हिंसा, धर्म परिवर्तन, सरकारको कोरोना महामारी प्रतिको गैरजिम्मेवारी, बढ्दो बेरोजगारी समस्या लगायतका विषयलाई आन्दोलनको मुद्दा बनाउँदै आएको राप्रपा नेता जनक पाठकले जानकारी दिए ।