सन् २०२० मा ६० पत्रकारको हत्या, २०१९को भन्दा ११ बढी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
36
Shares
काठमाडौं। कोरोना भाइरसको माहामारीले विश्वलाई नै ठूलो संकटमा पारेको सन् २०२० ऐतिहासिक वर्षका रुपमा रहने भएको छ । यसबाहेक यो वर्षका पत्रकार र सञ्चारकर्मीको हत्याका घटनाका लागि पनि निकै नै दुखद् रहन पुगेको छ । सन् २०२० मा ६० जना पत्रकार एवं सञ्चारकर्मीको हत्या भएको छ । २०२० मा सन् २०१९ मा भन्दा ११ जना बढीको हत्या भएको हो । सन् २०१९ मा ४९ पत्रकारको हत्या भएको थियो ।
अन्तर्राष्ट्रिय पत्रकार संघ (आईएफजे)ले सन् १९९० देखि पत्रकार एवं सञ्चारकर्मीको हत्याका विषयमा वार्षिक रिपोर्ट प्रकाशन गर्न थालेको थियो । सन् १९९० र सन् २००० को बीचमा पत्रकारको हत्या उच्च बिन्दुमा थियो । अहिलेको अवस्थामा आइपुग्दा समेत सोही बेलाकै स्थिती रहेको आईएफजेको तथ्यांले देखाएको छ ।
संगठित आपराधिक कार्टेलहरु, चरमपन्थीहरुको विद्रोह र सांप्रदायिक हिंसाले पत्रकारहरुमाथि आतंक बढाउँदै आएको छ । यी समुहहरुले विश्वको जुनसुकै कुनामा पनि स्वतन्त्र रिपोर्टिंग गर्ने अवसरबाट बञ्चित गराएका छन् ।
मेक्सिकोमा ब्यारेन्सको निर्मम शासन, पाकिस्तान, अफगानिस्तान र सोमालियामा कट्टपन्थीहरुको हिंसाका साथै भारत र फिलिपिन्सका कट्टरपन्थीहरुको निमर्मताले मिडियामा निरन्तररुपमा रक्तपात गर्न योगदान पुर्याएको देखिन्छ ।
यस वर्ष ज्यान गुमाउने पत्रकारमध्ये रुसी पत्रकार इरिना स्लाभिना मुख्य सूचीमा रहेकी छन् । निज्नी नभगोरोडकी पत्रकार एवं कोजा प्रेसका प्रमुख सम्पादक इरिनाको गत अक्टोबर २ मा हत्या भएको थियो ।
३१ डिसेम्बर २०२० सम्म आईएपफजेको हत्या भएका पत्रकारको सूचीमा एसिया प्यासिफिक क्षेत्र सबैभन्दा जोखिमपूर्ण देखिएको छ । यो क्षेत्रमा २७ पत्रकारको हत्या भएको छ । त्यसपछि ल्याटिन अमेरिकामा १७ पत्रकारको हत्या भएको छ । त्यस्तै मध्यपूर्वमा ८, अफ्रिकामा ६ र युरोपमा २ पत्रकारको हत्या भएको छ ।
पत्रकारका लागि सबैभन्दा बढी जोखिम रहेको मुलुकका रुपमा मेक्सिको पहिलो नम्बरमा रहेको छ । मेक्सिकोमा मात्रै १४ पत्रकारको हत्या भएको छ । दोस्रो नम्बरमा भारतमा ८ पत्रकारको हत्या भएको छ । तेस्रोमा अफगानिस्तामा ७, पाकिस्तानमा ७, फिलिपिन्समा ४, सिरियामा ४, नाइजेरियामा ३ र सोमालीयामा २ पत्रकारको हत्या भएको छ ।
यसबाहेक बंग्लादेश, क्यामेरोन, कोलोम्बिया, होन्डुरस, पराग्वे, रुस, स्विडेन र यमनमा पनि एकएक पत्रकारको हत्या भएको छ ।