खनाल र नेम्बाङको गृहजिल्ला इलाममा नेकपा छिन्नभिन्न, तोकिए दुई अध्यक्ष
प्रकाशित २०७७ पुष १८ शनिबार
198
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको असर तल्लो तहसम्म पुग्नेक्रम जारी छ । देशभरी नै नेकपाका नेता कार्यकर्ता छिन्नभिन्नको अवस्थामा छन् । ‘हेभी वेट’ नेताको पहिचान बनाएका शीर्ष नेताहरुको गृह जिल्ला सबैभन्दा धेरै प्रभावित देखिन्छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला कमिटी प्रष्ट रुपमा विभाजित भएको छ ।
जिल्ला कमिटी अध्यक्ष राम राना र सचिब सोममाया राई सिन्धुबीच बैठकका बारेमा देखिएको अन्तरविरोधपछि बेग्लाबेग्लै भेला र बैठकहरु जारी छन् ।
पार्टीको केन्द्रीय राजनीतिमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली समुह फुटको संघारमा पुगेका बेला इलाममा पनि प्रष्ट दुई धार छुटिट्एको हो ।
प्रचण्ड निकट मानिएकी जिल्ला कमिटि सचिब राईलगायत पूर्व प्रधानमन्त्री खनालनिकट मानिएका नेता कार्यकर्ता एकातिर छन् भने प्रधानमन्त्री ओली निकट अर्थात पूर्व सभामुख नेम्बाङ निकट मानिएका नेता कार्यकर्ताले बेग्ला बेग्लै जिल्ला अध्यक्ष तोकेरै भेला र बैठक गरिरहेका छन् ।
प्रचण्ड निकट मानिने सचिव राईले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अपिल गरेपछि स्थिति विग्रिएको हो ।
पछिल्लो पटक ओलीले विस्तार गरेको कमिटीको केन्द्रिय सदस्य रहेका मगरले विज्ञप्ती नै जारी गरेर बैठक भनेर ‘भ्रामक ढंगले गरिएको निमन्त्रणा’ अस्विकार गर्न आब्हान नै गरे । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमपछि दुवै गुटका कार्यकर्ताहरुले जिल्लामा गतिविधि सक्रिय बनाएका छन् ।
प्रचण्ड-माधव-झलनाथ पक्षधरहरुले रानालाई अध्यक्षको जिम्मेवारीबाट हटाइ नयाँ जिल्ला अध्यक्षमा भक्त केसीलाई पदस्थापन नै गराइसकेका छन् ।
अध्यक्ष रानाले पार्टीको निर्णय विरुद्ध पार्टी हित र अनुसाशन विपरीत गतिविधिमा संलग्न भएको जनाउँदै अध्यक्षको जिम्मेवारीबाट हटाइ जिल्ला अध्यक्षमा केसीलाई पदस्थापन गरिएको बिज्ञप्तीमार्फत जनाएका छन् ।
पार्टी जिल्ला सचिव सिन्धु राइको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं इलाम इन्चार्ज धिरेन्द्र शर्माको प्रमुख आतिथ्य र प्रदेश सदस्यहरु मणिकुमार लिम्बु, खिनु लङ्वा, ध्रुव श्रेष्ठ, कान्छा लावती, उर्मीला तामाङ, पार्टी नेता राम राई र प्रवीण तिम्सिनाको उपस्थितिमा बहुमत सदस्यको उपस्थितमा पूर्ण बैठकले उक्त निर्णय गरेको जानकारी गराइएको छ ।
प्रचण्ड-माधव-झलनाथ नेतृत्वको समूहले महेश बस्नेत र उमेश गुरुङलाई समेत पार्टीको हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै कार्यालय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
बस्नेत र गुरुङको स्थानमा उदय राइ, आरबी राई र जे.बी. फिलिहाङ्गलाई पदस्थापन गरिएको जनाएको छ । यस्तै पार्टीको कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाइ जिम्मेवारी तोकिएको छ । साथै पार्टीमा असहज परिस्थिति सृजना भएकाले पार्टीको नाममा रहेको सम्पूर्ण बैंक खाता रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।
विगतका राष्ट्रिय निर्वाचनहरुमा बर्चस्व कायम राख्दै आएका खनाल र नेम्बाङ पार्टीमा देखिएको विभाजनपछि आफ्नो साख जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । झापा आन्दोलनताका सँगै मैदानमा उत्रिएर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताद्वय अन्ततः चार दशकपछि दुई ध्रुवमा विभाजित भएका हुन् ।