संसद विघठन गर्नु आफ्नो अधिकार भएको प्रधानमन्त्री ओलीको दावी
पुस २२ गतेदेखि संवैधानिक इजलासमा
प्रकाशित २०७७ पुष १९ आइतबार
112
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गर्नु आफ्नो अधिकार भएको दावी गरेका छन् । सर्वोच्च अदालतले दिएको समयभित्रै प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद विघटनबारे लिखित जवाफ पेश गर्दे त्यस्तो दावी गरेका हुन् । पुस ५ गते भएको संसद विघटन सिफारिस र सदरको सक्कल फाइलसहित प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चको संवैधानिक इजलासमा आफ्ना भनाइ राखेका हुन् । ओलीले पेश गरेको ११ पृष्ठ लामो लिखित जवाफमा संसद विघटन राजनीतिक निर्णय भएकाले त्यस उपर अदालतमा प्रश्न गर्न नहुने उल्लेख गरेका छन् ।
‘संसदीय शासन व्यवस्थामा प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अन्तरनिहित अधिकार हो । प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तरनिहित मूल्य हो। राजनीतिक परिवेशको मूल्याङ्कनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रूपमा नै आमजनताले मूल्याङ्कन गर्ने विषय हो । यो विषय न्याय निरुपणयोग्य मापदण्डभित्र नपर्ने हुँदा प्रस्तुत रिट खारेजभागी छ,’ जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन् । उनले सरकार सञ्चालनमा पार्टी, संसदीय दल र समितिहरुबाट निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको समेत उल्लेख गरेका छन् । सरकार सञ्चालनमा पार्टीबाट अनावश्यक हस्तक्षेप र दबाब दिएका कारण बाध्य भएर विघटनको निर्णय गरेको दावी ओलीले गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको अवस्थामा थप दुई वर्ष देश अनिर्णयको बन्दी बन्ने र जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन् । ‘पार्टी, संसद र सरकारको नेतृत्वमा रहेको नाताले पार्टी र संसद दुवैमा दलीय अनुशासन कायम गराउनु पनि मेरो प्रमुख कर्तव्य हो । पार्टीमा अनुशासन कायम गर्न संसदको विघटन गर्नु एउटा स्थापित संसदीय अभ्यास हो । व्यक्तिगत राजनीतिक स्वार्थका लागि मैले संविधान, कानून, संसदीय अभ्यास र जनमतको भावना प्रतिकूल हुने कुनै सम्झौता गरी पदमा टिकिरहने विकल्प रोजिन,’ उनले भनेका छन् । उनले आफूलाई संसदीय दल, पार्टी, संसद र सरकारको बीचमा समन्वयकारी भूमिका खेल्दै सरकारका प्रस्तावहरुलाई संसदबाट पारित गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा सो नभई सधैंभरि अवरोध र असहयोग मात्रै भएको उल्लेख गर्दै सर्वोच्चलाई जवाफ दिएका छन् । ‘योग्यता र क्षमताका आधारमा हुनुपर्ने नियुक्तिमा पार्टीले खटाएका आ–आफ्ना नाता–गोताका वा नजिकका मानिस नियुक्त गर्न केही नेताहरुबाट अवाञ्छित दबाब दिने कार्य भयो । नीतिगत मार्गदर्शन गर्नुपर्नेमा पार्टीका केही नेता, सरकार सञ्चालनका स–साना विषयको व्यवस्थापनमा उद्यत् हुन खोज्नुभयो,’ उनले उल्लेख गरेका छन् ।
संवैधानिक इजलासले दिएको आदेशअनुसार कागज र लिखित जवाफ पेश भएसँगै पुस २२ गतेदेखि संवैधानिक इजलासमा संसद पुनर्स्थापनको माग गर्दै दायर भएका १४ रिट निवेदनमाथि निरन्तर सुनुवाइ हुनेछ ।