काठमाडौँ । नेपालमा थप ५२२ जना कोभिड-१९ का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ५५१ जनाको पिसिआर परीक्षण भएकोमा ३३८ पुरुष र १८४ महिला गरी ५२२ मा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १३९ पुरुष र ९३ महिला गरी २३२ संक्रमित भेटिएका छन् ।
हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ । अहिले देशभार पाँच हजार २२५ कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५७८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ । निको भएको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।
गत २४ घण्टामा कोरोन संक्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८९३ पुगेको छ । अहिले २०३ आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।