हुम्लामा ओली समुहको कार्यकर्ता भेला, 'जहाँ ओली त्यहि नेकपा र सूर्य चिन्ह'
सूर्य चुनाव चिह्न दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन
जनकबहादुर शाही,
प्रकाशित २०७७ पुष २२ बुधबार
119
Shares
हुम्ला। नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली समुहको बुधबारबाट अगुवा कार्यकर्ता भेला सुरु भएको छ । बुधबार हुम्लाको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाबाट सुरु गरिएको अगुवा कार्यकर्ता भेलालाई नेकपा ओली पक्षका पोलिटब्युरो सदस्य एबं कर्णाली प्रदेश अध्यक्ष गोर्खबहादुर बोगटीले सम्बोधन गरेका छन् ।
नेकपाको ओली समूहका केन्द्रीय सदस्य समेत रहेका नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । उनले भने जहाँ ओली त्यहीँ नेकपा र सूर्य हुन्छ कोही पनि भ्रममा नपर्न र आफ्ना कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे । अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए । अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनः एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन ।
बुधबार ताजाकोटको छप्रेलामा नेकपाको ओली समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अर्का केन्द्रीय सदस्य दल फडेराले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हुन्छ त हाम्रो मात्र, नभए कसैको पनि हुँदैन ।’ दाहाल-नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको अदानचुली गाउपालिकाका अध्यक्ष समेत रहेका नेता फडेराले बताए ।
सो अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय सदस्य एबं खार्पुनाथ गाउपालिकाका उपाध्यक्ष रुपा शाही, नेता गोविन्द शाही र नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले सम्वोधन गरेका छन् । आफ्नै पाटीको सरकार भएर पनि सरकारलाई काम गर्न पनि नदिने बाटो नछोड्ने प्रचण्ड र नेपाल पक्षले गरेकाले पार्टीको यो दुरदशा भएको भन्दै नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको सम्बोधन गर्ने क्रममा नेता शाहीले आरोप लगाएकी छन ।
ताँजाकोट गाउँपालिकाबाट बुधबार (बुधबार) सुरु गरिएको अगुवा कार्यकर्ता भेला कार्यक्रम पौष २३ अदानचुली गाउँपालिकाको श्रीनगरमा, पौष २५ गते चंखेली गाउँपालिकाको पिप्लाङमा र पौष २७ गते सर्केगाड गाउँपालिकाको सर्केगाडमा संचालन गर्दै नेकपा ओली समुहले जिल्लाभरी कार्यक्रम गर्ने नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले बताए । बुधबार ताजाकोटको छप्रेलामा भएको अगुवा कार्यकर्ता भेला कार्यक्रममा ओली समुहका ८० देखि एक सय जना अगुवा कार्यकर्ता भेला भएको बोहरनले बताए ।