काठमाडौं। नेपाली कांग्रेसतर्फबाट राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेको र आफूलाई हिटलर जस्तै बनाउँन खोजेको बताएका छन् । राष्ट्रिय सभाको बिहिबारको बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले संविधान मान्नु पर्दैन भन्दै प्रश्न गरे ।
‘प्रधानमन्त्रीले संविधान मान्नु पर्दैन ?, उहाँ हिटलर हो ?’ राष्ट्रिय सभा सदस्य रायमाझीले बैठकमा आफ्नो पालोमा धारणा राख्दै भने ।
उनले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मार्फत् प्रधानमन्त्री ओलीलाई संविधान समेत उपहार पठाएका छन् ।
प्रधानजमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार दाबी गरेर संविधान विपरितको निणर्य लिएको भन्दै संविधानको किताब नै उपहार पठाएको भनेका छन् ।
‘म संविधान प्रधानमन्त्रीसम्म पुगोस् भन्ने चाहन्छु, म अध्यक्षलाई संविधानको किताब बुझाउँछु,’ बैठकमा धारणा राख्दै उनले भने ।
उनले असंवैधानिक काम गर्ने मानिस प्रधानमन्त्री हुन नपाउने समेत बताए ।
‘प्रधानमन्त्री हुनका लागि योग्यता चाहिन्छ, पहिलो प्रतिनिधिसभाको सदस्य हुनुपर्छ, दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ, तेस्रो मानसिक सन्तुलन ठीक भएको हुनुपर्छ, तर प्रतिनिधिसभाको उहाँ सदस्य अहिले हुनुहुन्न, उहाँलाई प्रधानमन्त्री भन्ने कि नभन्ने ?, असंवैधानिक काम गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन ?, मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे ।