रुपन्देहीका सिडियोमार्फत प्रचण्ड-माधव समुहले प्रधानमन्त्रीलाई पठायो संविधान पुस्तक
नारायण वली,
प्रकाशित २०७७ पुष २४ शुक्रबार
127
Shares
रुपन्देही । प्रतिनिधि सभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा संघर्ष समिति प्रचण्ड-माधव समुह रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र सहित संविधानको पुस्तक पठाएको छ ।
विरोध प्रर्दशनसहित शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेको संघर्ष समितिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) पिताम्बर घिमिरे मार्फत् प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसंगै विरोधपत्र समेत पठाइएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले निरंकुश एंव तानाशाह प्रवृति अंगाल्दै, नेपालमा जारी भएको नयाँ संविधानमा उल्लेख नगरिएको संसद् विघटन जस्तो असंवैधानिक कदम चालेकाले प्रधानमन्त्री ओलीलाई नयाँ संविधानको पुस्तक एक पटक गम्भिर रुपमा अध्ययन गर्नका लागि पठाइएको नेकपा रुपन्देहीका सचिव निर्मल जिसीले बताएका छन् ।
यस्तै, नेकपा केन्द्रीय सदस्य बामदेव क्षेत्रीले संविधानको रक्षा गर्नको लागि संसद् विघटनको पुर्नस्थापना हुनुपर्ने माग गर्दै, आन्दोलनमा उत्रिनु परेको जनाएका छन् । साथै उनले, नेपाली जनताले ठूलो चुनौतीका वावजुत संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए ।
नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो ।