सडकभर पानी झार्दै गुडेका ५० टिपर कारबाहीमा, अटेरीलाई मुद्दा
सौरभ गिरी,
प्रकाशित २०७७ पुष २६ आइतबार
527
Shares
नेपालगञ्ज । बाँके जिल्लामा शनिबार ५० वटा टिपरहरु कारबाहीमा परेका छन् । नदीजन्य पदार्थ बालुवा र ग्राभेल बोकेर टिपरले बाटोभर जथाभावी पानी झार्दै गुडेका कारण ५० टिपरलाई कारबाही गरिएको हो। राजमार्ग भर पानी झार्दै गुडेका कारण ५० टिपरलाई जनही १ हजार ५०० रुपैयाँका दरले जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।
पैदल यात्रु र सवारी साधनलाई समेत गाह्रो बनाउँदै पानी झारेर सडकको बिजोक अवस्था हुँदै गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आफैँ सडकमा निस्केर त्यस्ता पानी झार्दै गुडेका टिपरलाई कारबाही गरेका हुन् ।
प्रजिअ कुरुम्बाङको कारबाही अभियानलाई बाँके ट्राफिकले सहकार्य गरेको थियो । टिपर कारबाही दौरानमा बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीसमेत सडकमै बसेर टिपरलाई कारबाही गरेका छन् ।
यस्तै अब पनि नदिजन्य पदार्थ बोक्दा पानी झार्दै गुडेमा मुद्दा नै दायर गर्ने बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ। ट्राफिक प्रहरी मुख्य राजमार्गमा मात्र नभएर अब गाउँ गाउँमा समेत गएर कारबाही गर्ने भएको छ।