काठमाडौं । नेपाली सेनाले गत २१ पुसबाट गोरखादेखि सुरु गरेको सात दिने एकीकरण पदयात्रा आइतबार नुवाकोट हुँदै काठमाडौं आइपुग्दै छ । पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट सेनाले एकीकरण पदयात्रा सुरु गरेको थियो । पदयात्राका क्रममा ल्याइएका राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा आइतबार काठमाडौंको टोलीलाई हस्तान्तरण हुँदैछ ।
नुवाकोटको ककनीस्थित जबरजंग गणले ककनीमा काठमाडौंको शमशेरदल गणलाई आइतबार सो सामग्री हस्तान्तरण गर्ने सेनाको जंगीअड्डास्थित जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । ककनी इलाकाको हस्तान्तरण कार्यक्रम पश्चात पदयात्रा टोली ककनी-पाँचमाने हुँदै तीनपिप्ले आइपुग्ने छ । सो स्थानमा स्थानीय जनप्रतिनिधि एवं स्थानीयद्धारा पंचेबाजा एवं झांकी सहित स्वागत गर्ने कार्यक्रम छ ।
तत्पश्चात पदयात्रा तारकेश्वर नगरपालिका अन्तर्गत पर्ने मुड्खुगढी र थानागढी हुँदै पृथ्वीनारायण विद्यालय पुरानो गुहेश्वरी मन्दिर, बालाजु बाइपास, सोह्रखुट्टे, पकनाजोल, नरदेवी हुँदै साँझ ५ बजे हनुमानढोका दरबार पुग्ने कार्यक्रम छ । त्यसपछि हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय जनप्रतिनिधी, गुठी, क्लबहरुले स्वागत गर्ने छन भने स्वागत पश्चात श्री शमशेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा प्रथम पाँच युनिटको झण्डाहरु हस्तान्तरण गर्ने कार्यक्रम छ ।
पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकको प्रयोग गरिएको छ भने गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्गबाट नै यात्रा गरिएको थियो । पद पात्रामा गोरखा दरबारबाट ४० जनाको टोली सहभागी छन । पदयात्राको सुरुवात रणसिंह दल गण गोरखाको टोलीले सुरु गरेको थियो । त्यहाँबाट सेनाको टुकडीले बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गरेको थियो । धादिङबाट नुवाकोटको सिमानासम्म धादिङस्थित सेनाको गणले झण्डा र टर्च हस्तान्तरण गरेको थियो ।
पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइटको प्रयोग गरिएको छ । यसअघि गत वर्ष समेत सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर पदयात्रा आयोजना गरेको थियो । हरेक वर्ष २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाइदै आइएको छ ।