इक्यान मेलाको तयारी भव्य छ, विद्यार्थीले उत्साहपूर्वक नाम दर्ता गराइरहेका छन्
प्रकाशित २०७७ पुष २७ सोमबार
96
Shares
विगतका बर्षहरुमा काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुँदै आइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बृहत शैक्षिक मेला यसबर्ष अनलाइनमार्फत हुँदैछ । आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ देखि १८ तारिखसम्म सञ्चालन हुने १४औं मेलामा सहभागिता जनाउन दैनिक सयौं विद्यार्थीले नाम दर्ता गराइरहेका छन् ।
नेपालमा सञ्चालनमा रहेका एकसय भन्दा बढी इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि मेलामा सहभागि हुँदैछन् । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन पाउनेछन् । इक्यानले पहिलो पटक यस्तो भर्चुअल मेला आयोजना गर्न लागेको हो । मेलाको तयारीलगायतका विषयमा इक्यानका केन्दिय सदस्य तथा सक्सेस अबोर्ड स्टडीका म्यानेजिङ डाइरेक्टर भवनाथ हुमागाईंले हाम्राकुरासँग कुराकारी गरेका छन् ।
इक्यान मेला खास के का लागि आयोजना गरिरहनु भएको छ ?
खासमा इक्यानले बार्षीक रुपमा शैक्षिक मेला आयोजना गर्ने गर्छ । यसपाली हामी १४ औं मेलाको तयारीमा छौं । मेलालाई हामी आफ्नो ब्यावसायिक रुपमा प्रस्तुत हुने कडीका रुपमा पनि लिने गर्छौं । यसले विशुद्ध रुपमा शैक्षिक परामर्श दिने काम गर्छ । आफूले जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्शका लागि यो मेला आयोजना गरेका हौं । त्यसबाहेक विश्वमा रहेका विश्वविद्यालयमा पढाइ हुने कोर्षका बारेमा जानकारी दिने गर्छौं । यसपटक कोभिडले गर्दा हामी भौतिक रुपमा उपस्थिति हुन नसकेका कारण भर्चुअल मार्फत विद्यार्थी तथा अभिभावकहरुसँग हामी मेलामा सहभागि हुनेछौं ।
यतिबेला भौतिक रुपमा उपस्थित हुन सक्ने अवस्था छैन, त्यसोहुँदा मेलामा विद्यार्थी तथा अभिभावहरु कसरी सहभागी हुने ?
हुनत यसपटक हामी भर्चुअल माध्यमबाट मेला आयोजना गरेर पहिलो अनुभव लिंदैछु । यसका लागि सहभागिताका लागि सजिलो होस भनेर एउटा अनलाइन पोर्टल तयार गरेका छौं । त्यसको नाम इक्यानफियर डटकमछ । त्यसमा आफ्नो नाम, ईमेल,फोन नम्बर दर्ता गरेपछि लगइन र पासवर्ड प्राप्त हुनेछ । त्यसपछि उसले हामीसँग रहेका व्यवसायी साथीहरु वा स्टलहरु देख्न पाउनेछन् । त्यसपछि आफूले चाहेको देश वा विश्वविद्यालय वा कोर्षका बारेमा च्याटिङ गरेर साथै भिडियोमार्फत मजाले जानकारी लिन सक्नेछन् । घरमै बसेर आनन्दले आफूले जान चाहेको देश, विश्वविद्यालय, कोर्ष, लागतलगतायका सम्पूर्ण जानकारी लिन पाउनेछन् ।
विश्वभर कोरोना भाइरसले समस्या बनाएको छ । भिषा प्रक्रियामा कत्तिको झन्झट छ ?
झन्झट छैन । अहिले सबै डिजिटल सिस्टममार्फत आवेदन दिनुपर्ने भएकाले भौतिक रुपमा विद्यार्थीहरुले दुःख पाउनु पर्दैन । भिषा प्रक्रिया कुनै पनि देशमा रोकिएको छैन । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भएकाले केही असहज भएको होला तर भर्ना प्रक्रियालगायतका क्षेत्रमा झन्झट छैन । साथै भिषा पक्रियामा त्यस्तो झन्झट छैन । न्यूनतम कागजपत्र र प्रक्रिया त सबैले पुर्याउनै पर्छ । सबै प्रक्रिया अनलाइनमै हुन्छ । तर बायोमेट्री, पासपोर्ट समिटलागयतका काममा केही असहज हुनसक्ला ।
पछिल्ला बर्षहरुमा कुन कुन देश विद्यार्थीका रोजाइमा छन् ?
नेपाली विद्यार्थीहरुको रोजाइ अष्ट्रेलिया नै हो । त्यसबाहेक एसियाली देशहरु पनि रोजाइमा छन् । जापान, अमेरिका, क्यानाडा साथै केही युरोपियन देशहरु पनि रोजाइमा छन् । यूके पनि रोजाइमा पर्न थालेको छ । यूकेको अवस्था केही असहज भएकाले विस्तारै सुधार हुँदैछ ।
यसपालीको मेलामा सहभागिताको कस्तो अपेक्षा गर्नु भएको छ ?
यसपटक अलिक चुनौति छ अवश्य छ । मेलामा भौतिक रुपमा उपस्थित जनाइरहेका विद्यार्थीहरु भर्चुअल सहभागी हुने भएकाले केही असहज होला तर उत्साह ब्यापक छ । चार दिनसम्म चल्ने मेलामा हामीले एकलाख बढी विद्यार्थी सहभागि हुने अपेक्षा गरेका छौं । हाम्रो सफ्टवेयर सिस्टमले एक पटकमा २५ हजार ब्यक्तिको सहभागिता जनाउने ब्यवस्था गरेका छौं ।
हामीलाई मात्र नभइ सबै क्षेत्रलाई असर पारेको छ । हामी मारमै छौं । इक्यानको अगुवाइमा हाम्रा समस्याहरुका बारेमा सरकारसमक्ष पहल गरेका छौं । तर हामीले काम रोक्नु भएन । नियमित कामहरु गरिरहेका छौं । अभिभावक तथा विद्यार्थीहरुलाई नियमित परामर्श र प्रक्रियालाई निरन्तरता दिएका छौं ।