काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले चुनाव चिन्ह आफ्नै पक्षलाई दिने विश्वास व्यक्त गरेका छन् । वुधवार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको वृहत भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले विधिसम्मत आफुहरुकै पक्षलाई चुनाव चिन्ह मिल्ने बताएको दावी गरेका हुन् ।
प्रचण्डले दलसम्बन्धी ऐनमा जोसँग ५० भन्दा बढी केन्द्रीय समितिको संख्या हुन्छ त्यही पार्टी आधिकारीक पार्टी हुने बताए। त्यस्तै ४० प्रतिशत संख्या पुर्याउन सक्नेले अर्को दल बनाउन सक्ने उनले बताएका छन् ।
निर्वाचन आयोगले यसैकुरालाई आधार मान्दै प्रचण्ड–नेपाल पक्षलाई नै चुनाव चिन्ह दिने निर्णय गर्ने उनले बताए। उनले प्रश्न गर्दै यसो नभएमा अर्थात प्रचण्ड–नेपाल पक्षलाई चुनाव चिन्ह नमिले यहाँ जे पनि हुनसक्ने बताएका छन् ।
प्रचण्डले भने, 'हाम्रो पार्टीको नाम र चुनाव चिन्ह हाम्रै हुनेछ, म यो विश्वास तपाइलाई दिलाउन चाहन्छु, यदि त्यसो भएन भने यहाँ कयामत आउँछ, यहाँ आँधी हुरी बतास आउँछ ।'
केपी शर्मा ओलीले संघिय लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा चलाएझैं अरु कुनै संवैधानिक निकायले त्यस्तो गरेमा नेपाली जनता हेरेर बस्न नसक्ने प्रचण्डले बताएका छन् ।
अहिले कतिपयले अदालत र निर्वाचन आयोगको सेटिङमै प्रतिनिधि सभा विघटन भएको बताएको प्रसङ्ग निकाल्दै प्रचण्डले लोकतन्त्रको हत्या पनि हुने अनि सेटिङमा फेरि सबै सहज हुने भन्ने कुरा आफूले पत्याउनै नचाहने र सुन्नै पनि नचाहने बताए । उनले भने, 'अदालत र आयोग सेटिङमा चल्छ भन्ने कुरा पत्याउन्न । बरु लाखौ जनतालाई सडकमा उतारेर अदालत र आयोगलाई निर्णय गर्न सहजिकरण गरौं। अब हरेक दिन सडकमा हजारौं मानिस निस्कनु पर्छ । '
केपी ओलीमा 'आइ एम द स्टेट' भन्ने तानाशाही भूत सवार भएको प्रचण्डको भनाई थियो। तानाशाही रुपमा अघी बढेका ओलीमा कमिलाको प्वाँख उम्रेझै प्वाँख उम्रेको उनले बताए । गणतन्त्र विरोधी ओली र कुकुरको पुच्छर उस्तै भएको प्रचण्डले बताए । प्रचण्डले भने, ' पार्टी जोगाउन र गणतन्त्रको लाइनमा ल्याउन ओलीलाई जति तेल लगाएपनि कुकुरको पुच्छर जस्तै बाङ्गाको बाङ्गै रहेको छ ।'
सिधा भइहाल्छ की भनेर जति तेल लगाएपनि केहि हुन नसकेको जनाउँदै प्रचण्डले भने, 'मैले जति तेल कसैले लगाएन । अब भने पार लागेन ।'
केपी ओलीको अहंकार भ्यागुतोले पेट फुलाए झैं बढ्दै गएको प्रचण्डले बताए । उनले अगाडी भने,'पेट फुलाउँदै छन् केपी ओली । म ठूलो हुँ भन्ने अहं छ । ट्रम्प, मोदी, सि चिनफिङ भन्दा म ठूलो भन्ने भ्रम छ। अब कुन दिन फुट्छ हामी पनि हेर्दैछौ ।'
प्रचण्डले केपी ओलीको ठाउँमा माधव नेपाललाई एक नम्वर अध्यक्ष मानेर जाँदा आफूलाई आनन्द लागेको बताए । उनले यसमा आफूलाई हिनतावोध नभइ आनन्द लागेको बताए ।