निर्वाचन आयोगमा ओली पक्षले बुझायो जवाफी पत्र, पार्टी विभाजन नभएको जिकिर
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २९ बुधबार
204
Shares
काठमाडौं। केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई जवाफी पत्र बुझाएको छ । आयोगले नेकपाको दल आधिकारिकता विवाद बढ्दै गएपछि अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत २३ पुसमा पत्र पठाएर आवश्यक कागजात मागेको थियो । आयोगले पत्र पठाएपछि बुधबार ओली निकट नेता सुवास नेम्बाङ जवाफी पत्र सहित आयोग गएका हुन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगलाई दुबै पक्षबाट कागजात आएको र प्राप्त कागजातको अध्ययन गर्ने बताए । तर पत्रमा के कस्ता विवरण बुझाइएको छ भन्ने बारे भने उनले अध्ययनपछि मात्रै जानकारी हुने जनाए ।
स्रोतका अनुसार ओली समूहले आयोगमा बुझाएको पत्रमा पार्टी विभाजन नभएको जिकिर गरेको छ । यसैगरी पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको समेत भनिएको छ ।
ओलीको हस्ताक्षरसहित आयोगमा बुझाइएको पत्रमा ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु, द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ, दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन्,’ लेखिएको छ ।
प्रचण्ड समूहकाका तर्फबाट पनि आजै स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी लगायत थप कागजात लिएर आयोग गएका थिए । उनीहरुले यस अघी समेत आयोगलाई आवश्यक कागजात बुझाइसकिएको दाबी गरेका छन ।
गत बुधबार कागजात बुझाउन अध्यक्ष प्रचण्ड र माधव नेपालसहितको समूह आयोगको कार्यालय गएको थियो । सो समूहले आयोग समक्ष दुई समूहलाई दुई फरक तरिकाबाट पत्र पठाएको भन्दै आपत्ति समेत जनाएका थिए ।