कोरोना महामारीलाई जित्न नियमित योग अभ्यास अनिवार्य : प्रधानमन्त्री ओली
प्रकाशित २०७७ माघ १ बिहिबार
103
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीलाई जित्न योग अभ्यासले ठूलो सहयोग पुर्याउने बताएका छन् ।
छैठौं राष्ट्रिय योगा दिवसका अवसरमा बालुवाटारमा आयोजित योगा क्याम्प कार्यक्रममा उनले कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताए ।
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने जनाएका छन्।
प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरेका छन् ।
योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।