निर्माण रोक्न आदेश विपरीत कमलपोखरीमा रातारात डोजर चलाइयो
प्रकाशित २०७७ माघ ५ सोमबार
107
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १ स्थित कमलपोखरी निर्माण रोक्न चौतर्फी दबाबका बीच महानगरपालिकाले रातारात डोजर चलाएको छ ।
ऐतिहासिक पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट बनाउन थालेपछि निर्माण रोक्न दबाब बढेको थियो ।
काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि सो को ब्यवस्था गर्दै सोमबार साँझ नै डोजर चलाइएको कमलपोखरी बचाउ अभियानका अभियन्ता आलोकसिद्दी तुलाधरले सामाजिक संजालमार्फत जनाएका छन् ।
केही दिन अघि काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापाले पोखरीको निर्माण कार्य ढिला भएको साथै प्राकृतिक सिमसार स्वरुप नष्ट हुनेगरी वास्तविक पोखरी साँघुरो बनाउने कार्य भएकाले हाललाई निर्माण कार्य रोक्न महानगरसमक्ष माग गरेका थिएन ।
त्यस्तै स्थानीय सामाजिक अगुवा र संम्पदा संरक्षकहरुले पनि पोखरी जोगाउन महानगरसमक्ष माग गर्दै आएका थिए । तर निर्माण रोक्न चौतर्फी दबाब भएपनि महानगरले सोमबार राती ९ बजे डोजर चलाएको हो ।
पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
पोखरी सिमसार क्षेत्र भएको, चराचुरुङ्गीको वासस्थान वा पानी खाने स्थान रहेको साथै ऐतिहासिक र पुरातात्विक महत्वलाई ओझेल पार्न लागेकोमा स्थानीयले पनि आपत्ति जनाउँदै आएका छन् ।
करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।
निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।
महानगरले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहने ब्यवस्था छ । त्यस्तै पूर्वी भागमा मूल प्रवेशद्वार, पोखरीको चारै कुनामा ४र४ मिटरको पाटी निर्माण साथै चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ।