प्रदेश दुईका तीन स्थानमा खोप, मन्त्री यादवले आफैबाट सुरु गरे अभियान
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १४ बुधबार
104
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईमा पनि कोभिड–१९ विरुद्वको खोप बुधबारबाट लगाउन सुरु गरिएको छ । प्रदेश दुईमा धनुषाको जनकपुरधाम, पर्साको बिरगंज र सप्तरीको राजविराज गरि तीन ठाँउहरुमा खोप लगाउन सुरु गरिएको हो ।
प्रदेश दुईमा पर्साको बिरगंजमा मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाममा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा सप्तरीको राजविराजमा समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियानको उद्घाटन गरेका छन् ।
जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पहिलो खोप आफै लगाएर अभियानको सुरु गरे । मन्त्री यादवले खोप मानवजातीको हितमा रहेको र आफु दैनिक संयौंको सम्पर्कमा आउने गरेकाले समेत खोप लगाएर जनताको भय त्रास कम गर्न चाहेको बताए ।
उपलब्ध खोप कोरोनाको फ्रन्टलाइन स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी सहित ७० वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेर लगाइने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए।
राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन प्रसाद सिंहले भारत सरकारले उपलब्ध गराएको खोपमा कुनै पनि शंका नगर्न सर्वसाधारणलाई आग्रह गरे।
वक्ताहरुले कोरोना कहर सुरु हुँदा प्रदेशलाई कोरोना प्रदेश समेत भनिरहँदा प्रदेशका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी कति पनी नडराएको भन्दै खोप अभियान पनि सफल पार्नु पर्ने बताए।
कोरोना विरुद्वको खोप भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।