काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुलाई बालुवाटारमै बोलाएर केही आश्वासन दिएका थिए ।
ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सुनाएका थिए ।
वालुवाटारमा भएको भेटका क्रममा कमाण्डरहरुसँग ओलीले तत्कालिन माओवादी जनयुद्धको कमाण्डर रहेका पुष्पकमल दाहाल प्रचण्डप्रति इंङ्गित गर्दै नेतृत्वले तपाईंहरुको भावनाको दुरुपयोग गरेको बताए ।
पूर्वजनमुक्ति सेनाको आड लिएर प्रचण्डलाई राजनीतिक रुपमा कमजोर बनाउन ओलीले चालेको कदम विहीबारको एक विरोध कार्यक्रमको घोषणाले ओलीको कदमलाई धक्का लाग्ने देखिएको छ ।
उनीहरु प्रतिनिधिसभा विघटनका बिरुद्ध आन्दोलनमा उत्रिएका छन । विहीबार माइतीघर मण्डलामा धर्ना तथा विरोधका कार्यक्रम नै आयोजना गरेका छन् ।
धर्ना कार्यक्रम पूर्व जनमुक्ति सेना नेपालका अध्यक्ष सुवास गौतम (सौरव)लगायतको डिजाइनमा तयार भएको बुझिएको छ । सौरवले नै हस्ताक्षर गरेको विरोधका कार्यक्रम समेटिएको विज्ञप्तिमा ओलीले आन्दोलनका उपलब्धि उल्ट्याउने खेलमा लागेको दाबी समेत गरिएको छ ।
विज्ञप्तिमा जनयुद्ध र २०६२/०६३ को जनान्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्ने खतरा भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ देखि १७ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने, माघ १८ गते प्रत्येक जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै माघ २२ गते एकीकृत मसाल जुलुस , माघ २४ देखि २७ गतेसम्म आन्तरिक भेला तथा प्रशिक्षण र माघ २८ गते नेकपा (बहुमत)ले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँगको भेटमा भने ओलीले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने, नेतृत्वबाट विगतमा जस्तो धोका नहुने भन्दै आश्वासन दिएका थिए ।