arrow

'स्थिरताको प्रधान शत्रु केपी ओली'

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
pradip-poudel9.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकमा विकास र स्थिरताको लागि प्रधान शत्रु केपी ओली रहेको बताएका छन । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले मुलुकको विकास र स्थिरताका लागि प्रधानमन्त्री ओली प्रधान शत्रु भएको बताएका हुन ।

‘संविधानले मुलुकमा राजनीतिक स्थिरताका लागि दल विभाजन गर्न ४० प्रतिशत संख्या चाहिने व्यवस्था गर्दा पनि ओली अध्यादेश ल्याएर दल विभाजनका लागि पटक पटक सहज बनाउन खोजे, मुलुकलाई स्थिर राख्न संविधानले संसद विघटन गर्न नपाउने गरी व्यवस्था गर्दा पनि ओलीले संसद विघटन गरेरै छाडे, यसकारण उनी विकास र स्थिरताको प्रधान शत्रु हुन,’ नेता पौडेलले सम्बोधनका क्रममा भने ।

संंविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्न चाहेको आरोप समेत लगाए ।

‘नेपालमा अहिले गणतन्त्र होइन विद्यातन्त्र लागू भइरहेको छ, राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्न चाहिरहेका छन,’ पौडेलले भने । पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै पौडेलले ‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्नसमेत गरे ।

प्रधानमन्त्री ओली गणतन्त्रविरोधी भएको भन्दै पौडेलले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली नै भएको ठोकुवासमेत गरे ।



लोकप्रिय समाचार
नयाँ