लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सिरहा सदरमुकाममा सोमबार आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृति सभालाई सम्बोधन उनले भने, “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।” अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनारायण यादवका सालिकमा माल्यार्पणसमेत गरेका थिए ।
“संसद् विघटन संवैधानिक छ”, अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, “संसद् विघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहेका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्त्वसँग मिलेर, जोड घटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।” नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरूले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरूले भने जस्तो संसद् विघटन असंवैधानिक होइन, संवैधानिक छ ।” मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।”
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले जनतालाई अलमलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँ गाउँमा जान नेता कार्यकर्तालाई निर्देशन दिए । “नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ,“ प्रधानमन्त्री ओलीले भने,“ हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईँहरू धैर्य गर्नुस्, तपाईँहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”
व्यावहारिक रूपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य हुने जानकारी दिए ।
उनले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिक स्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखाना स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिए ।
उनले अब तराई–मधेस भएर बग्ने ठुलठुला नदी र कोसी–कमला डाइभर्सन लगायत सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामा जोड दिए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री टोपबहादुर रायमाझीले अस्थिरतामा धकेल्न खोज्ने प्रवृत्तिका नेताहरूका कारण मुलुकमा यस्तो अवस्था आएको जनाउँदै ताजा जनादेश लिने निर्णय लिएर प्रधानमन्त्रीले देशलाई अस्थिरतामा जानबाट जोगाएको बताए ।