सैन्य कूप्रति बाइडेनले दिए धम्की, आफ्ना नागरिकलाई यस्तो दिए निर्देशन
प्रकाशित २०७७ माघ २० मंगलबार
133
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारको सेनाले नेतृ आङ सान सुकीसहित अन्य नेताहरुलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले ‘उचित कदम’ चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सुकीको गिरफ्तारीलाई ‘भयभीत पार्ने’ भनी व्याख्या गरेको बीबीसीले लेखेको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना बनाएको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।
बर्माका विभिन्न स्थानमा इन्टरनेट काटिएको छ । रंगुनका केही क्षेत्रमा समेत इन्टरनेट काटिएको छ ।
अमेरिकी दूतावासको आग्रह
म्यान्मारको रंगुनमा भएको अमेरिकी दूतावासमा समेत पनि गम्भीर सचेतना अपनाइएको बताइएको छ । सुकीसहितका नेताहरु पक्राउ परेपछि दूतावासले गम्भीर सचेतना अपनाएको बताइएको हो ।
दूतावासले बर्मामा भएका अमेरिकी नागरिकलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ । यस्तो छन् दूतावासका सुझाव–
१, अनावश्यक भ्रमण हटाउनु ।
२, आफ्नो व्यक्तिगत सुरक्षा योजनाको समीक्षा गर्नु ।
३, आफ्नो वरिपरिको अवस्थाबारे सचेत रहनु ।
४, स्थानीय समाचारको अद्यावधिकबारे अनुगमन गर्नु ।
५, ठूला जमघट र प्रदर्शनमा सरिक नहुनु ।
दूतावासले थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि भनेको छ ।